काठमाडौँ- काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम अबको केही समयमा नै सुरु गर्ने बताए। चाबहिल र नयाँ बानेश्वर चोकमा नयाँ आकाशे पुल बनाउने तयारीका साथ कामपाले प्राविधिक सहितको टोलीसमेत गठन गरिसकेको उनको भनाइ छ।
हाल काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल रहेका छन्। केही समयअघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल १० वटा मात्र सञ्चालनमा छन्। तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डप लगायत स्थानका पुल जीर्ण भइसकेका छन्।
'नयाँ पुल निर्माणको कामसँगै कामपाले जीर्ण अवस्थामा रहेका पुराना आकाशे पुल मर्मतको काम पनि गर्नेछ,' प्रमुख शाक्यले भने, 'एक वर्षअघि नै महानगरपालिकाले विभिन्न स्थानमा पुल निर्माणका लागि रु ५ करोड बजेट विनियोजन गरिसकेको थियो, अब जनप्रतिनिधिले उक्त कार्य पूरा गर्नेछन्।'
अत्यधिक चाप रहने नयाँ बानेश्वर, चाबहिल, कोटेश्वर चोक र काठमाडौँ जिल्ला अदालत अगाडि आकाशे पुलको आवश्यकता देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।