–विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली/रासस
ल्हासा- राष्ट्रपति विद्यादेवी भण्डारीले भूगोलको हिसाबले नेपाललाई उत्तरतिर चीनको तिब्बतले नै जोड्ने भएकाले यस क्षेत्रको भ्रमण गर्नु अति आवश्यक भएको बताउँदै चीन र तिब्बतले गरेको अभूतपूर्व विकास प्रयासका लागि प्रशंसा गरेकी छिन्।
उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा अन्तरसीमा हिमाली क्षेत्रको विकास परियोजनाका लागि पूर्ण सहयोगको आश्वासन पाएको र त्यसमा चिनियाँ चासो पनि रहेको बताएका जानकारी दिइन्।
चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङबाट ल्हासा आइपुगेकी राष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वु इङजीले यहाँको परराष्ट्र मन्त्रालयमा स्वागत गरेका थिए।

मंगलबार दुई पक्षबीच भएको बैठकमा राष्ट्रपति भण्डारीले आफू कुनै पनि पार्टीको सदस्य नभएको र सबैको राष्ट्रपति भएको बताउँदै नेपालका सबै पार्टीप्रति चीन सरकारले राम्रो सम्बन्ध राखेको धारणा व्यक्त गरिन्। उनले चीन तथा तिब्बतको विकास प्रयासबाट नेपालका सबै राजनीतिक दलका नेताहरुले सिक्न सक्ने पनि उल्लेख गरिन्।
बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीनबीच सीमा क्षेत्रको विकासमा तिब्बतले ठूलो भूमिका खेल्न सक्ने उनकाे भनाइ थियाे। उनले नेपालले चीनसँग क्षेत्र तथा मार्ग प्रयास (बेल्ट एण्ड रोड इनिसियटिभ)मा काम गर्दा तिब्बतको ठूलो भूमिका हुने पनि उल्लेख गरिन्। उनले बहुआयामिक यातायात सञ्जालमा रेलमार्गको कुरा भएको र यसले यस क्षेत्रकै सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले मे महिनादेखि तातोपानी नाका खोल्न सहमति भए पनि अन्य नाकाका विषयलाई पनि अगाडि बढाउनुपर्ने र हिमाली क्षेत्रका १५ जिल्लासँग मिली अन्तरसीमा आर्थिक विकास गर्नसके ठूलो फाइदा पुग्ने बताइन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेकाे बताउँदै तिब्बती क्षेत्रबाट थप पर्यटक पठाइदिन आग्रहका साथ सचिव वुलाई नेपाल भ्रमणको निमन्त्रणा दिए।
सचिव वुले दुई राष्ट्रपतिले व्यक्त गरेकाे मतैक्यतालाई तिब्बतले दृढताका साथ अगाडि बढाउने जानकारी दिँदै तिब्बत र नेपालबीच रेल सम्पर्क तथा पहाडी क्षेत्रका परियोजनाका विषयमा कार्य हुनेमा आश्वस्त हुन आग्रह गरे। उनले दुई मुलुकका सीमा क्षेत्रका जिल्लामा विकास परियोजनाका विषयमा चिनियाँ राष्ट्रपति सीको निर्देशनअनुसार काम गरिने पनि उल्लेख गरे। उनले आफूले सन् २०११ मा नेपालको भ्रमण गरेको बताउँदै मन्त्री ज्ञवालीको निमन्त्रणा स्वीकार गरी समय मिलाएर पुनः नेपालको भ्रमण गर्ने जानकारी दिए।

बैठकपछि दुई पक्षबीच उपहार आदानप्रदान भएकाे थियाे भने सचिव वुले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए। उक्त अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बत स्वशासित क्षेत्र समितिका उपसचिव तथा तिब्बत स्वशासित क्षेत्रका सरकारका अध्यक्ष छी ठालाले हार्दिक र मैत्रीपूर्ण सम्बन्ध रहेका चीन तथा नेपालले विकास प्रयासलाई अझै अगाडि बढाउनेमा विश्वास जताए।
राष्ट्रपति भण्डारीका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले उक्त भोज र भ्रमण दललाई दिइएको आतिथ्य र मायाका लागि धन्यवाद व्यक्त गर्दै बिआरआईको सञ्जाल निर्माणले विकास प्रक्रिया तथा यस क्षेत्रको जनताको सामाजिक विकासमा दूरगामी प्रभाव पर्ने जिकिर गरे।
उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरेका थिए।

चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले यसअघि बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनलको अपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी भई सम्बोधन गरेकी थिइन्।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणी पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङछी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।