कैलाली– हरेक वर्ष मंसिर २२ देखि हुने गरेको सुदूरपश्चिम महोत्सव यस वर्ष एक साता ढिलो गरी मंसिर २९ देखि पुस १० सम्म हुने भएको छ।
धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मंसिर २१ गते चुनाव परेको र लगत्तै मतगणना हुने भएकाले परम्परा तोड्दै महोत्सव केही पर सारिएको जानकारी दिइयो।
महोत्सवमा दुई सय ५० वटा स्टल राखिने उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सव अवधिभर १५ करोडको कारोबार हुने प्रक्षेपण पनि संघले गरेको छ। महोत्सव आयोजनामा करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
०६३ सालदेखि सुरु भएको देशकै ठूलो मानिने सुदूरपश्चिम महोत्सव करिब पाँच लाख दर्शकले अवलोकन गर्ने गरेका छन्। यसपाली १२औं संस्करणको नारा ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने राखिएको छ।
महोत्सवमा सुदूरपश्चिमका कला संस्कृतिका साथसाथै स्थानीय र राष्ट्रिय कलाकारका विभिन्न रोचक प्रस्तुति रहने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।