काठमाडौ– ‘हाम्रो समस्या हाम्रै समाधान’ भन्ने मूल नाराका साथ सोमबारबाट राजधानीमा सुरु भएको मेलमिलापकर्ताहरूको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
२५ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको मेलमिलापकर्ताको सम्मेलनले २५ बुँदे घोषणापत्र जारी गरेको छ।
दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न पाँच वटा कार्यपत्रहरू प्रस्तुत भएका थिए।
सम्मेलनमा मेलमिलाप पद्धतिका आधारभूत अवधारणा तथा मेलमिलापकर्तको आचारसंहिताको पालनाको स्थितिदेखि उद्योग र वाणिज्य सम्बन्धी विवादमा मेलमिलाप वर्तमान अवस्था र सुधारका क्षेत्रहरुसम्म छलफल भएको थियो।
छलफलपछि विवाद समाधानको वैकल्पिक पद्धतिका विषयमा घोषणापत्र जारी गर्दै आगामी दिनमा मेलमिलापलाई अझै महत्व दिने प्रतिबद्धता घोषणामा उल्लेख छ।
स्थानीय निकाय र अन्य निकायमा पनि मेलमिलापलाई जोड दिन सम्मेलनको घोषणापत्रमा माग गरिएको छ।
सम्मेलनमा विभिन्न निकायका कर्मचारी, स्थानीय न्यायिक समितिका संयोजकहरू, सामुदायिक मेलमिलापकर्ताहरू, अदालतप्रेषित मेलमिलापकर्ताहरू लगायत १ सय ५३ जनाको सहभागिता थियो। समापन समारोहलाई सम्बोधन गर्दै मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाले मेलमिलापकर्ताहरूको दोस्रो राष्ट्रिय सम्मेलनले मेलमिलापको पद्धतिलाई अझै प्रभावकारी रुपमा लैजाने विश्वास व्यक्त गरे।
उनले भावी दिनमा स्थानीय निकायका न्यायिक समिति, सामुदायिक मेलमिलापको केन्द्रहरूमा हुने मेलमिलापले न्यायपालिकामा आउने मुद्दाको संख्यामा कमी आउन सकेमात्र मेलमिलापको अर्थले सार्थकता पाउने बताए।
सम्मेलन समारोहमा मेलमिलाप परिषद्का पूर्व अध्यक्षहरू गिरिशचन्द्र लाल र वैद्यनाथ उपाध्यायलाई मेलमिलाप परिषद्मा रहेर महत्वपूर्ण भूमिकाको कदर गर्दै सम्मान गरिएको थियो।
त्यस्तै मोरङ जिल्ला अदालतका न्यायाधीश महेन्द्र प्रसाद पोखरेलले धेरै मुद्दालाई मेलमिलापका लागि सिफारिस गरेको र चितवन जिल्ला अदालतमा मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जयनारायण आचार्यलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।