धनगढी- ट्रकको ठक्करबाट एक छात्राको मृत्यु भएपछि तनावग्रस्त हुन पुगेको कैलालीको लम्कीको अवस्था ६ घन्टापछि सामान्य भएको छ।
मंगलबार बिहान १० बजेतिर ना ७ ख ९२३३ नम्बरको ट्रकले सुदूरपश्चिम राजमार्ग अन्तर्गत लम्की बजारक्षेत्रमा ठक्कर दिएको थियो। लम्की बहुमुखी क्याम्पसकी १९ वर्षीया सुनिता रावललाई ठक्कर दिंदा मृत्यु भएको थियो।
रावलको मृत्युपश्चात् आक्रोशित स्थानीय तथा उनी अध्ययनरत क्याम्पसका विद्यार्थीहरुले यतायता तथा बजार बन्द गर्दै तोडफोडमा उत्रिएका थिए।
आक्रोसित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयासका साथै सडकमा टाएर जलाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास हवाई फायर समेत गरेको थियो।
झडपका क्रममा दुई जना आन्दोलनकारी र छ जना प्रहरी गरि आठ जना घाईते भएको कैलाली प्रहरी कार्यालयले जनाएको छ। सोही क्रममा रवरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको थियो।
घाइतेको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भैरहेको छ।
बिहान १० बजेदेखि तनावग्रस्त लम्कीको अवस्था छ घन्टा अर्थात् साँझ ४ बजेपछि सामान्य भएको छ। लम्कीमा बसेको सर्वपक्षीय बैठकले दोषीलाई कारबाही गर्ने, पीडित पक्षलाई उचित राहत उपलब्ध गराउन पहल गर्ने सहमति भएपछि अवस्था सामान्य भएको कैलाली प्रहरी प्रमुख एसपी आभुषण तिमिल्सेनाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।