काठमाडौं- भारतीय सेनाले नेपालको मकालु हिमालमा 'यति' भनिने हिममानवको पाइला देखेको दाबी गरेको छ।
हिमाल आरोहणमा आएको भारतीय स्थलसेनाको टोलीले मकालु हिमालको आधार शिविरमा ३२ इन्च लम्बाई र १५ इन्च चौडाई भएको हिममानवको पाइला देखेको बताएको छ।

गत अप्रिल ९ मा आरोहण दलले हिममानवका पाइला देखेको भन्दै भारतीय सेनाको ट्विटरमा सोमबार ३ वटा तस्बिर प्रकाशन गरिएको छ।

१८ जना रहेको भारतीय सेनाको आरोहण टोली ९ अप्रिलमा मकालु हिमालको आधार शिविरमा पुगेको थियो।
नेपालको खुम्बु र चीनको तिब्बत सिमामा पर्ने मकालु हिमाल संसारको ५औं र नेपालको चौथो अग्लो हिमाल हो।

यसको उचाई ८ हजार ४ सय ८१ मिटर छ।
अस्तित्वमा छ, हिम मानव?
विगत ४ शताब्दीदेखि हिमाली क्षेत्रका दैत्यको रुपमा समेत चिनिने हिम मानवको खोजी भइरहेको छ। मिथकका रुपमा रहेको हिम मानवको अतित्व रहेको अहिलेसम्म प्रमाणित गर्न सकिएको छैन।
हिममानव अर्थात् यतिको काल्पनिक तस्बिर।
तर, बेला–बेलामा नेपालका हिमाल हिममानव देखेका दाबीहरू सार्वजनिक हुने गरेका छन्।
विगत ३ सय ५० वर्षदेखि हिमाल भेगको स्थानीय परम्परामा हिममानवको अस्तित्वको कल्पना गरिन्छ।
सोलुखुम्बुको पाङ्बोचे (जहाँबाट सगरमाथाको आकृति प्रष्ट देखिन्छ)मा रहेको गुफामा बसेका धर्मगुरु साङ्वा दोर्जेलाई हिममानवले सहयोग गरेको बताइने गरिन्छ।
सन् १९९१ मा बेलायति अनुसन्धानकर्ता एरिक सिप्टोनले सगरमाथाको पश्चिमी भेगमा हिम मानवको तस्बिर खिचेको बताइन्छ।
सन् २०१७ मा गरिएको एक अध्ययनले टिमले हिमालय श्रृंखलामा यतिको अवशेषको रुपमा पाइएको हात, दाँत, छाला, कपाल आदीको डिएनए परीक्षण गरेको थियो।
उनीहरूले प्राप्त गरेको विभिन्न ९ अंगहरूको डिएनए परीक्षण गर्दा कुनै अंगको डिएनए कुकुर प्रजातिसँग, कुनै एसियाली कालो भालुसँग त कुनै भूरे भालुसँग मेल खाएको पाइएको थियो।
अधिकांश अंगको डिएनएन परीक्षण गर्दा भालु प्रजातिसँग मेल खाने किसिमको रहेको थियो।
त्यसअघि सन् २०१४ मा गरिएको अध्ययनले पनि त्यस्तै निष्कर्ष निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।