चितवन- नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी हुन सकेको छैन। निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा ४ पटक सवारी रोकेर भित्तो काट्न भनेको भए पनि यसरी काम गर्दा प्रभावकारी हुन नसकेको हो।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल कालोपत्र गर्ने ठाउँमा पनि एकतर्फी सवारी रोकेर काम गर्नुपर्ने भएकाले भित्तो काट्न लागिएको तीन ठाउँमा सवारी रोक्दा व्यावहारिक नदेखिएको बताउँछन्।
उनका अनुसार सवारी रोकेर काम थालेलगत्तै एम्बुलेन्स आउने, सुरक्षा निकायका सवारी आउने, अन्य अत्यावश्यक सवारी आउने भएकाले ती सवारीलाई आडैमा रोकिराखेर काम गर्न सम्भव हुन नसकेको हो। ती अत्यावश्यक सवारीलाई बाटो खोल्दा अरु सवारी पनि सँगसँगै जबर्जस्ती जाने गरेका छन्। एक घन्टा सवारी रोक्दा आधा घन्टा भित्तो काट्ने र आधा घन्टा बाटो सफा गर्नुपर्ने भएकाले पनि काम प्रभावकारी हुन नसकेको खनालले बताए।
सोही सडकका ३ वटै खण्डमा कालोपत्र भइरहेको छ। सडकको आधा भागमा कालोपत्र गर्दा अर्को आधा भागमा एकतर्फी सवारी सञ्चालन गरिँदै आएको छ। पालैपालो ती सवारी आवतजावत गर्दै आएका छन्। हालसम्म उक्त सडकखण्डको ११ किमी क्षेत्रमा कालोपत्र गरिएको छ। पहिलो तह सकिएर ती क्षेत्रमा दोस्रो तहको पनि ५ किमी भाग कालोपत्र गरिएको छ।
गत सोमबारबाट सवारी रोक्दै भित्तो काट्दै गरिँदै आएको छ। जसअनुसार बिहान ७ देखि ८:३० बजेसम्म, ११ देखि १२ बजेसम्म, दिउँसो १ देखि २ बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम भइरहेको छ। यसअघि गत हिउँदको समयमा दिनभर सवारी रोकेर भित्तो काट्ने काम भएको थियो।
हालसम्म सडकको ६० प्रतिशतमात्रै काम भएको छ। आयोजनाका इञ्जिनियर खनालका अनुसार सबै ठाउँमा ३ तहको कालोपत्र गर्नुपर्ने हुन्छ। एक दिनमा ३ सय मिटर हाराहारीका दरले कालोपत्र गर्न सकिएको उनले बताए।
हाल नारायणगढ–मुग्लिन सडकखण्डको ३४ किमि खण्ड फराकिलो बनाइँदैछ। नारायणगढबाट १६ किमिसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म ९ मिटर फराकिलो सडक बनाइँदैछ। सडकको सबै भाग कालोपत्र गरिने भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।