धादिङ- कर्तव्य ज्यान मुद्दामा फरार रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ।
उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका ८ जनाले हत्या गरेका थिए। हत्यापछि शवसमेत गुपचुप राख्न जलाइएको थियो।
घटनापछि मृतकका भाइ गमबहादुर विकले ४० वर्षीय सार्की विक, ५९ वर्षीय बमबहादुर विक, ३४ वर्षीय हेमडल्ला विक, ४५ वर्षीय पूर्णबहादुर विक, ३१ वर्षीय मङ्गले कामी, अमृता विक र पञ्चमाया विकविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीको लामो अनुसन्धानपछि जिल्ला अदालत धादिङले विसं २०७४ मङ्सिर १९ गते अमृता र पञ्चमायालाई सफाइ दिएको र बाँकी सबैलाई कैद गर्ने फैसला गरेको थियो।
सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैद्वारले जानकारी दिए।
घटनापछि संलग्न ८ मध्ये फरार रहेका ३ जनालाई बैसाख ११ र १५ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियाे। बैसाख ११ गते काठमाडौंको गौशलाबाट ४० वर्षीय सार्की विकलाई पक्राउ गरिएको थियो। उनलाई दुई वर्ष कैद तोकिएकाले जिल्ला अदालत पेस गरी कारागार पठाइएको छ।
त्यस्तै आइतबार थप २ जनालाई पक्राउ गरिएको थियाे। रुबिभ्याली गाउँपालिका–२ निवासी ५९ वर्षीय बमहादुर विकलाई तिप्लिङको कामीगाउँबाट पक्राउ गरिएको हाे भने सोही ठाउँका ३४ वर्षीय हेमडल्ला विकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका–५ प्राजुङबाट पक्राउ गरिएको हाे। बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको छ।
घटनामा संलग्न गाउँपालिका–२ बस्ने ४५ वर्षीय पूर्णबहादुर विकलाई २०६४ भदौ ११ गते नै पक्राउ गरिएको थियो। उनलाई पुर्पक्षमा १० वर्ष कैद जरिवाना तोकिएको थियो। त्यस्तै सोही ठाउँका ३१ वर्षीय 'मङ्गले कामी' भनिने डिलबहादुर विक २०७३ जेठ ३ गते पक्राउ परेका थिए। उनलाई २ वर्ष कैद तोकिएको थियो।
अर्का आरोपी रुबिभ्यालीकै २८ वर्षीय कालु विकलाई २० वर्षको कैद तोकिएकामा उनको दुई वर्ष अगाडि नै मृत्यु भएको परिवारले प्रहरीलाई जानकारी दिएको छ। उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।