दार्चुला- सरकारको पूर्ण लगानीमा बनेको चमेलिया जलविद्युत् आयोजनाले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको छ।
दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा विद्युत् जोडिएको आयोजनाले जनाएको छ।
सन् २००७ देखि निर्माण कार्य सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले १० वर्षमा विद्युत् उत्पादन गर्न थालेको हो।
सन् २००७ मा निर्माण थालेर सन् २०११ को डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सो समयमा काम पूरा हुन नसकेपछि उक्त समयसीमा सन् २०१७ को डिसेम्बर पुर्या इएको थियो।
आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई बिहीबार चार्ज गरेको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए। तत्काल सिंगल सर्किटबाट चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख दाहालले बताए।
चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना–ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने बताइएको छ।
आयोजना निर्माणमा सिभिलतर्फ चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले काम गरेको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनीले गरेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।