दमास्कस- इजरायली लडाकु जहाजले सिरियाली रासायनिक हतियार कारखानामा आक्रमण गरेको चर्चा सेलाउन नपाउँदै सिरियाले पश्चिमी भूभागस्थित सैन्य अखडामा इजरायली लडाकु जहाजले आक्रमण गरेको आरोप लगाएको छ।
सिरियाली सेनाद्वारा जारी विज्ञप्तिमा लेबनानबाट मास्यफ सहर नजिकको सैन्य अखडामा प्रहार गरिएका रकेटले दुई सैनिकको मृत्यु भएको उल्लेख छ।
अरब सञ्चार माध्यमले भने अपुष्ट स्रोत उल्लेख गर्दै सिरियाली रासायनिक हतियार कारखानामा आक्रमण भएको जनाएका छन्।
यसअघि पनि सिरियाका रासायनिक हतियार भण्डारमा यस्तै गोप्य आक्रमण गरेको इजरायलले भने आक्रमणबारे कुनै प्रतिक्रिया जनाएको छैन।
इजरायली आक्रमण संयुक्त राष्ट्र संघीय अनुसन्धानकर्ताहरूले गत अप्रिलमा विद्रोही नियन्त्रित सहरमा भएको घातक रासायनिक आक्रमणमा सिरियाली सरकारको हात रहेको बताएको एक दिनपछि भएको छ।
राष्ट्र संघका अनुसार खान सेखुनमा भएको रासायनिक आक्रमणमा कम्तीमा ८३ सर्वसाधारण मारिएका थिए।
सिरियाली राष्ट्रपति बसर–अल–असदले रासायनिक आक्रमणको खण्डन गर्दै आएका छन्।
सन् २०१३ मा रुसको मध्यस्थतामा सिरियामा रहेका सबै रासायनिक हतियार नष्ट गर्ने सहमति भएको थियो। तर सिरियाले अझै रासायनिक हतियार उत्पादन गरिरहेको आरोप अमेरिका लगायत पश्चिमा देशका गुप्तचर एजेन्सीहरूले लगाएका छन्।
केही वर्षयता इजरायलले सिरियाका सैन्य अखडामा यस्ता आक्रमण गर्दै आएको छ।
इजरायलले सिरियामाथि उसको भूभागमा इरानलाई मिसाइल कारखाना राख्न दिएको आरोप पनि लगाएको छ। इजरायलले आफ्नो कट्टर शत्रु इरानले सिरिया हुँदै लेबनानी हज्बुल्ला लडाकु समूहलाई गर्ने हतियार आपूर्ति रोक्न सिरियाली सैन्य अखडामा आक्रमण गर्ने गरेको दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।