कञ्चनपुर– कञ्चनपुरको पुनर्वास हुँदै भारत कटाउन लागिएका दुई महिलालाई नेपाल–भारत सीमा नाकाबाट भारतीय एसएसबीको पहलमा उद्धार गरिएको छ।
शनिबार साँझ वैदेशिक रोजगारीको लागि भन्दै नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा एसएसबीले चेक जाँचका क्रममा दुई महिलाको उद्धार गरी सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पुनर्वासलाई बुझाएको हो।
उनीहरूलाई सशस्त्रले इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको छ।
सीमा कटाउन लागिएका २३ र ३३ वर्षीया दुई महिला सर्लाहीको बागमती नगरपालिका–७ को रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।
उनीहरूलाई लिएर जाने पुनर्वास नगरपालिका–५ का भीमबहादुर बोहरा प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराले बताए।
उद्धार गरिएका महिलाहरूको नाम गोप्य राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। मानव ओसारपसार कार्यमा मुख्य योजनाकार भनिएका किशन रोकाया भने फरार रहेको प्रहरीले जनाएको छ।
कैलाली कञ्चनपुरका सदरमुकाम स्थित सीमा नाकाहरुमा प्रशासनले चेक जाँचमा कडाइ गरेपछि विगत ३ वर्ष यता चेलीबेटी बेचबिखन तथा मानव ओसारपसारको लागि पुनर्वास ट्रान्जिट बन्दै आएको छ।
यसअघि पटकपटक पुनर्वासस्थित नेपाल-भारत सीमा नाकाहरूबाट दर्जनौं महिला तथा बालबालिकाहरूको उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।