राजविराज– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सप्तरीवासीलाई ‘अमिन’को काम नगर्न व्यंग्यात्मक सुझाव दिएका छन्। दिनभरि ठीकै भए पनि साँझ परेपछि मदिरा सेवन गरेर रोडमा टहलिने प्रवृत्ति बढेको भन्दै उनले यस्तो व्यंग्य गरेका हुन्।
सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र निर्माण हुन लागेको ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ कलेज’ भवनको शिलान्यास गर्न सप्तरी आएका मन्त्री यादवले मदिरा सेवन सप्तरीका लागि ठूलो समस्या बनेको संकेत गरे।
‘विकास निर्माणमा सप्तरीले चाँडै फड्को मार्न सक्छ। तर, हामीले दिउँसो र बेलुका एउटै कुरा बोल्ने बानी बसाउनुपर्छ,’ उनले भने, ‘दिनभरि एउटा कुरा, अनि साँझ परेपछि अर्को कुरा गर्ने हो भने विकास सम्भव छैन। सबैभन्दा पहिला अमिनले गर्ने रोड नाप्ने काम बन्द गर्नुपर्यो।’
सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज, प्रसुति गृह लगायत स्वास्थ्यसँग सम्बन्धित विशिष्ट संरचना तयार भइरहेको बताए। शिक्षा र स्वास्थ्यका क्षेत्रमा अहिले पनि सुधार गर्नुपर्ने धेरै कुरा बाँकी रहेको उनले बताए।
‘शारीरिक र मानसिक रुपमा स्वस्थ्य तथा बौद्धिक व्यक्ति तयार गर्न सके रोड, भवन, नहर लगायत विकासका काम आफंै तयार हुन्छ,’ उनले थपे, ‘तर, अस्वस्थ र ज्ञान नै नभएको व्यक्तिबाट त्यो सम्भव छैन।’
उनले मुलुकको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रमा हुनुपर्नेमा जोड दिए।
चिट चोराउने मास्टरको काम छैन
उपप्रधानमन्त्री यादवले सप्तरीको शिक्षा क्षेत्र खँस्कदो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरे। ‘वर्षभरि पढाएर पनि चिट चोराएर विद्यार्थी पास गराउनु पर्ने त्यस्ता मास्टरको अब काम छैन,’ उनले थपे, ‘हामीलाई डाक्टर, इन्जिनियर जे भए पनि क्वालीटीको चाहियो। चिट चोरेर पास गर्ने विद्यार्थीबाट त्यो आशा गर्न सकिँदैन।’
आजैबाट सुरु भएको कक्षा ११ को परीक्षातर्फ संकेत गर्दै उनले भने, ‘प्रहरीका हाकिम सा’व एक÷दुई जना मास्टर पक्राउ गर्नु पर्नेछ भन्दै हुनुहुन्थ्यो। यो भन्दा दुःखदायी अवस्था के हुन्छ।’
उनले परीक्षालाई व्यवस्थित गर्न र चिट प्रवृत्तिलाई निरुत्साहित गर्न निर्देशन समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।