भद्र देखिने अनुहारमा चश्मा लगाउने रोबर्ट मुगावे तानाशाही होलान् भन्ने कल्पना कसैले गरेका थिएनन्। आवरणमा शालीन देखिए पनि उनी शासनमा फरक देखिए। तानशाह एडोल्फ हिटलर जस्तो जुँगा पाल्ने मुगावे अन्ततः अधिनायकवादी भएर निस्किए।
श्रीमतीलाई सत्ता हस्तान्तरण गर्ने मोहले उनको ३७ वर्ष लामो शासन ‘तासको पत्ता’ झैं गल्यामगुर्लुम ढल्यो। जिम्बावेमा शासन गर्ने सपना धेरैले देखेका थिए, तर मुगावेको सत्ताच्युत यति छिटै होला भन्ने कसैले अन्दाज गरेका थिएनन्।
महाभियोग खेप्नुपर्ने भएपछि उनले मंगलबार राजीनामा दिए। ९३ वर्षका विश्वकै वयोवृद्ध शासक अब जिम्बावेको शासन व्यवस्थाका लागि इतिहास राजधानी हरारे वरिपरि प्रायः निस्क्रिय देखिने सेना गत साता एक्कासी सक्रिय बन्यो। शान्त देखिने हरारेमा सेनाका ट्यांकर हुलका हुल साइरन बजाउँदै निस्किएपछि जिम्बावेका स्थानीय जनतालाई लागेको थियो– हरारेमा दुश्मनको आक्रमण हुँदैछ। देश जोगाउन सेनाहरू प्रत्याक्रमणका लागि तयारी अवस्थामा बस्न लागेका होलान्!
तर, सेनाको त्यो सक्रियता फरक प्रयोजनका लागि थियो। राष्ट्रपति रोबर्ट मुगाबेले श्रीमतीलाई शासन सुम्पिने तयारीको खबर बाहिरिए लगत्तै त्यसलाई विफल तुल्याउन सेना सक्रिय बन्यो। सेनाले मुगाबेको प्रयासलाई विफल बनाएपछि र संसदले महाभियोग दर्ता गर्ने तयारी गरेपछि अत्तालिएका वयोवृद्ध शासकले राष्ट्रपति पदबाट राजीनामा दिए।
मुगाबेको व्यक्तिगत जीवन निकै रोचक छ। शिक्षण पेशाबाट राजनीतिमा प्रवेश गरेका उनी उदारवादी भएर उदाउँदै अधिनायक बनेर अस्ताए।
शिक्षकदेखि राजनीतिकज्ञसम्म
रोबर्ट मुगाबेको जन्म सन् १९२४ फेब्रुअरी २१ मा जियिम्बा जिल्लामा निकै गरिब परिवारमा भएको हो। उनी परिवारका तेस्रो सन्तान हुन्। उनी जन्मिएकै वर्ष जिम्बावेमा ‘युवा क्रान्ति’ सशक्त रुपमा चर्किएको थियो।
क्रान्तिकै रापमा जन्मिएका मुगाबे शिक्षकदेखि राजनीतिज्ञसम्म भए। मुगाबेले क्रिस्चियन मिसनरीले चलाएको शिक्षा अभियानमार्फत अध्ययन गर्ने मौका पाएका थिए। उच्च माध्यमिक तहसम्मको शिक्षा प्राप्त गरेपछि उनी शिक्षण पेशामा सक्रिय भए।
२५ वर्षको उमेरमा दक्षिण अफ्रिकी विश्वविद्यालयमा छात्रवृत्ति पाएका मुगाबे अफ्रिकामा अध्ययनरत रहँदा विश्वका चर्चित नेता नेल्सन मण्डेलाले चलाएको आन्दोलनबाट प्रभावित बनेका थिए। उनले अफ्रिकाको रंगभेद आन्दोलनमा समेत भाग लिएका थिए। यहीँ उनको भेट मण्डेलासहित तान्जिनिया र जाम्बियाका राष्ट्रपति जुलियस नाइर र केनिथ कनुडासँग भएको थियो।
आन्दोलनकै क्रममा मुगाबे घानासम्म पुगेका थिए। घाना बेलायतको उपनिवेशबाट मुक्त हुने पहिलो अफ्रिकी मुलुक हो। घानामा रहँदा मुगाबेले स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्ने नेता वामे निक्रुमाहसँग भेट गरेका थिए। उनीसँगको भेटपछि थप प्रभावित भएर मुगाबे जिम्बावेमा क्रान्ति गर्न फर्किएका थिए।
उदारवादी मुगाबे कसरी अधिनायकवादी भए?
सन् १९६० मा श्वेत जातिको वर्चश्वका कारण जिम्बावेमा अश्वेत जातिको अधिकार कुण्ठित भएको थियो। घानाको स्वतन्त्रता आन्दोलनदेखि अधिकार प्राप्तिका लागि मण्डेलाको संघर्षबाट प्रभावित बनेका मुगाबेले आफ्नो देशमा पनि अश्वेत जातिको अधिकारका लागि कडा संघर्ष गर्ने निधो गरे।
यही उद्देश्य अनुरुप उनी नेसनल डेमोक्रेटिक पार्टीमा आबद्ध भए र सन् १९६० मा पार्टीको सचिव पदमा कार्यरत रहँदै अश्वेत जातिको अधिकारका लागि आवाज उठाए।

पछि उनी जोसुवा कोमोले नेतृत्व गरेको जिम्बावे अफ्रिकन पिपल युनियन पार्टीमा आबद्ध भए। आन्दोलनकै क्रममा कोमो र मुगाबे पटकपटक जेल परे। जेलमै रहँदा मुगाबेले पार्टी फुटाए। सन् १९७४ मा रिहा भएपछि उनी अश्वेत जातिको अधिकार प्राप्तिका लागि लड्न तयार गरिएको जनमुक्ति सेनामा आबद्ध भए।
अधिकार प्राप्तिका लागि जनमुक्ति सेनाले १९६४ देखि १९७९ सम्म निरन्तर राज्यसँग भिडन्त गर्यो। १४ वर्ष चलेको गृहयुद्धमा २० हजार मानिसको ज्यान गयो। यसपछि सरकारले युद्धविराम गर्दै आम निर्वाचनको घोषणा गर्नुपर्यो।
अधिकार प्राप्तिको आन्दोलनदेखि युद्धका लागि खर्चिएको जवानीको ब्याज स्वरुप मुगाबे ३७ वर्षसम्म जिम्बावेको शासक बने। राज्य सञ्चालन गर्ने क्रममा जब उनी विवादमा पर्थे, जिम्बावेका जनतालाई प्रश्न गर्थे– ‘अश्वेत जातिको अधिकार र जिम्बावेको स्वतन्त्रता त्यसै प्राप्त भएको होइन। मैले मेरो जवानी तपाईंहरुको अधिकारका लागि खर्चिएँ, अब जिम्बावेको समृद्धिका लागि मैले बाँकी समय खर्चन पाउने कि नपाउने?’
यस्तै भावुक मन्तव्यले शासनमा पकड जमाउन सफल मुगाबेले आर्थिक हैसियत पनि बलियो बनाउँदै लगे। कृषि क्षेत्रमा जिम्बावेले यस्तो फड्को मार्यो, यो देश अफ्रिकाकै अन्नदाता बन्यो। शिक्षामा पनि जनताको पहुँचको विस्तार भयो। अफ्रिकी मुलुकहरुमा सबैभन्दा बढी ९५ प्रतिशत साक्षरता दर जिम्बावेकै छ।
मुगाबेको पहलमा भएको यस्ता गतिविधिले जिम्बावेको समृद्धिका लागि जनता आशावादी रहिरहे। तर, यो अवस्था लामो समय रहिरहन सकेन। मुगाबे कालमा जनताले भोकमरी व्यहोर्नु पर्यो, आर्थिक स्थिति नाजुक बन्दै गयो। मुगाबेको शासनको इतिहास जति लामो छ, त्यति नै जिम्बावेको संक्रमणकालको संघर्ष पनि लुकेको छ।
राष्ट्रपति मुगाबेको कार्यकाल द्वन्द्वग्रस्त रह्यो। स्वतन्त्रता प्राप्त भएको एक वर्ष बित्न नपाउँदै जिम्बावे गृहयुद्धमा धकेलियो। सोनाह र देबिलीबीचको जातीय हिंसाको चपेटामा जिम्बावे पर्यो। युद्धमा सोनाह जातिको नरसंहार भयो। राष्ट्रपति मुगाबेमाथि जातीय द्वन्द्व रोक्न पहल नगरेको आरोप लाग्यो।
नरसंहारको नेतृत्व गर्ने जोसुवा कोमोले कुनै सजाय पाएनन्। उल्टै मुगाबेले उनलाई उपराष्ट्रपति बनाए। त्यसैले उनलाई हत्यारा भन्नेको पनि कमी छैन।
‘स्वतन्त्रतापछि मुगाबेप्रति नतमस्तक जनता त्यो नरसंहार मुगाबेले रोक्न नसकेकोप्रति सहानुभूति समेत राख्छन्। तर म सहानुभूति राख्ने पक्षमा छैन। मुगाबे हिजो पनि हिंसात्मक थिए, आज पनि छन्। उनी हत्यारा सिवाय केही होइनन्’, पत्रकार स्लेट फउल भन्छिन्।
दमनकारी मुगाबे
सन् २००८ मा श्वेत जातिको कृषियोग्य जमिन खोस्ने काम उनको सरकारले गर्यो। ती जमिन अश्वेत जातिको अधिकारका लागि संघर्षमा लागेकाहरुलाई वितरण गर्ने काम समेत भयो।

सो काण्डपछि व्यावसायिक रुपमा कृषि गर्ने श्वेत नागरिकहरु जिम्बावेमा बस्न नसकेर छिमेकी देशको शरणमा पुगेका थिए। यही क्रममा जिम्बावेमा हिराको खानी पत्ता लगाउने इताइ जमराको समेत हत्या भयो। उनको सरकार दमनकारी भएपछि जिम्बावेमा आन्दोलन सुरु भयो।
राज्य नै दमनमा लागेपछि आन्दोलनकारीको विकल्प देश छाड्नुबाहेक केही रहेन। मुगाबेको छवि दमनकारी हुनुमा उनकी श्रीमती कारक रहेको जानकारहरु बताउँछन्।
सन् १९९६ मा रोबर्ट मुगाबेले ग्रेस मुगाबेसँग दोस्रो विवाह गरेका थिए। आफूभन्दा ३० वर्ष कान्छी ग्रेससँग विवाह गरेका रोबर्ट उनकै इसारामा चल्न थाले। यसै क्रममा उनले आफ्नो राजनीतिक महत्वाकांक्षाका लागि श्रीमानलाई प्रयोग गर्ने नीति बनाइन्।
आफ्नी श्रीमतीलाई राष्ट्रपति बनाउन मुगाबेले उपराष्ट्रपति इमर्सन मनंगावालाई पदबाट समेत हटाए। तर दुर्भाग्य, श्रीमतीलाई राष्ट्रपति बनाउन उपराष्ट्रपति इमर्सनलाई हटाएका मुगाबेले आफैं सत्ताच्युत हुनुपर्यो।
एजेन्सीहरूको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।