नेपालगञ्ज- नेपालगञ्ज–बघौडा हुलाकी सडक निर्माण कार्य सुस्त भए पनि निर्धारित समयमै निर्माण सकिने आयोजनाले जनाएको छ।
सडक निर्माण थालिएको ९ महिनामा करिब १५ प्रतिशत मात्रै काम भएको छ। पछिल्ला दिनमा सडकको कामले केही तीव्रता पाएकाले निर्धारित समयमै सडक निर्माणको काम पूरा हुने हुलाकी सडक आयोजना कार्यालय नेपालगञ्जका प्रमुख सौरभ बज्राचार्यको दाबी छ।
बाँके सदरमुकाम नेपालगञ्जदेखि बघौडासम्म साढे ४४ किलोमिटर सडकमध्ये फत्तेपुरदेखि बघौडासम्मको २६ किलोमिटर क्षेत्रमा माटो फिलिङ गरी ग्राभेलिङ गर्ने कार्य भइरहेको छ।
सो सडक खण्डमा पर्ने १५ वटा कल्भर्ट निर्माणको काम पनि भइरहेको छ। फत्तेपुरदेखि बघौडा क्षेत्रमा सडक निर्माणको काम भरहे पनि नेपालगञ्ज बसपार्कदेखि फत्तेपुरसम्म निर्माण रोकिएको छ।
२०७२ साल र यो वर्ष आएको बाढीले डुडुवादेखि राप्ती नदी हुँदै फत्तेपुरसम्मको अधिकांश सडकमा क्षति पुर्याएको छ। बाढीले क्षतिग्रस्त सडकको मर्मत तथा खाल्डाखुल्टी पुर्नेसम्मको काम नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

बाँकेको नरैनापुर तथा राप्ती सानारी गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगञ्जसँग जोड्ने प्रमुख सडक भए पनि निर्माण सुरु नहुँदा त्यस क्षेत्रका करिब एक लाख बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
नेपालगञ्ज–बघौडा हुलाकी सडक निर्माणको चर्चा सुरु भएको २० वर्ष भइसके पनि सडक निर्माण कहिलेसम्म पूरा हुने हो टुंगो छैन।
भारत सरकारको सहयोगमा सो सडकको निर्माण कार्य १९ मार्च २०१४ मा सक्नेगरी भारतको जिभिआर इन्फ्र प्रोजेक्ट चेन्नाईले २० सेप्टेम्बर २०११ मा ठेक्का सम्झौता गरेको थियो। करिब ३ प्रतिशत काम गरेर निर्माण कम्पनी भागेका कारण सो सडकको निर्माण कार्य लामो समयदेखि अवरुद्ध बनेको हो।
केपी ओली नेतृत्वको सरकारले सो सडकको निर्माण नेपालले आफ्नै लगानीमा गर्ने निर्णय गरेर बजेट समेत विनियोजन गरेपछि सडक निर्माणको काम अगाडि बढेको हो।
तत्कालीन भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले २०७३ माघ ५ गते सडक निर्माण कार्यको शिलान्यास गरेका थिए।
पप्पु लुम्बिनी जेभीले ६६ करोड ६ लाख ३६ हजार ८ सय ९० रुपैयाँ ३६ पैसाको लागतमा डबल लेनको कालोपत्रे सडक निर्माण कार्य सुरु गरेको हो। सो सडकको निर्माण कार्य २०७६ असार मसान्तसम्म पूरा गर्ने लक्ष्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।