सप्तरी– साउनको अन्तिम महिनामा आएको बाढी पहिरोका कारण यस वर्ष सप्तरी जिल्लाको धान उत्पादन घटेको कृषि विकास कार्यालयले जानकारी दिएको छ।
धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जनाइएको हो।
रोपाइँको समयमा पर्याप्त वर्षा नभएको र रोपी सकेपछि आएको ठूलो बाढीका कारण धानको उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले बताए।
यस वर्ष सप्तरीमा ५४ हजार ५ सय हेक्टरमा धानबाली लगाइएकोमा गत वर्षभन्दा पाँच प्रतिशतले (एक लाख ४९ हजार मेट्रिक टन) धान उत्पादनमा कमी भएको छ। गत आर्थिक वर्षमा ५२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर २.७५ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो। यसअघि २०७१÷०७२ मा ४२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर अढाइ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो।
अन्न भण्डारका रुपमा चिनिने तराईका जिल्लामध्ये सप्तरी जिल्लामा ५४ हजार ५ सय हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।