लुम्बिनी– लुम्बिनीका उद्योग व्यवसायीले सरकारका अव्यवहारिक, झन्झटिला र व्यवसायीमैत्री नीतिको अभावका कारण व्यापार फस्टाउन नसकेको गुनासो गरेका छन्।
उद्योग व्यापार संगठन रुपन्देही शाखाले भैरहवामा आयोजना गरेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा मंगलबार आयोजित व्यापारसम्बन्धी अन्तरक्रियामा उनीहरुले व्यवसाय दर्ता र नवीकरण, भन्सार र वाणिज्य नीति ज्यादै झन्झटिलो भएकाले त्यसलाई परिमार्जन गर्न सुझाव दिए।
कैयौँ सामान भारतीय बजारमा भन्दा नेपाली बजारमै सस्तो र गुणस्तरीय हुँदाहुँदै उपभोक्ता भ्रममा परेर सीमापारि गएर खरिद गर्ने परिपाटी रहेकाले यस्तो परिपाटीको अन्त्यका लागि प्रभावकारी नीति बनाउनुपर्नेमा उनीहरूले जोड दिए।
वाणिज्य कार्यालयका प्रमुख वेदप्रकाश उपाध्यायले दर्ता, नवीकरण र जरिवानासम्बन्धी सरकारी नीति नियममा रहेका अव्यवहारिक नीति र झमेलाले व्यवसायी निरुत्साही हुने गरेको स्वीकार्दै कमीकमजोरी सच्याउन जरुरी रहेको बताए।
उनले भारतसँगको खुला सीमाका कारण घरायसी प्रयोजनका नाममा पनि ठूलो परिमाणका सामान बिना भन्सार भित्रिने गर्दा स्वदेशी व्यवसायी सधैँ मारमा परेको बताए।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले गौतमबुद्ध विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र बेलहिया नाकाका कारण भैरहवा क्षेत्र व्यापारिक केन्द्र बन्न सक्ने आधार रहे पनि सरकारी नीति व्यवसायीमैत्री नहुँदा व्यवसाय फस्टाउन नसकेको गुनासो गरे।
उद्योग व्यापार संगठन जिल्ला अध्यक्ष नारायणप्रसाद भण्डारीले चिनीलगायत एकाध वस्तु सस्तो पाइने लोभमा नेपाली उपभोक्ता ठूलो संख्यामा सीमा पारी गएर नेपालमै सस्तो पाइने दर्जनौँ वस्तु खरिद गरेर ल्याउने परिपाटीलाई निरुत्साही पार्न सरकारले बाध्यकारी नीति बनाउनुपर्ने र संक्षिप्त प्रज्ञापनपत्रलाई कडाइका साथ लागू गर्नुपर्ने उल्लेख गरे।
संगठनका उपाध्यक्ष गिरिश त्रिपाठीले व्यवसायीमाथि लगाइने जरिवाना रकम व्यवसायीको ढाड सेक्ने खालको भएकाले घटाउन र अनुगमनका नाममा अनावश्यक दुःख नदिन माग राखे। उनले बैंकले लिने चर्को ब्याजदर पनि एक प्रकारको कालोबजारी नै भएकाले उद्योग व्यवसायमा सुलभ दरमा कर्जा दिन माग गरे।
राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगीकरण तथा व्यापार विविधकरण नारासहित उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलामा व्यापार, उद्योग, कृषि र पर्यटनका करिब ४ सय स्टल छन्। मंसिर ११ गतेसम्म चल्ने मेलामा लोपोन्मुख राउटे जाति, उट नाच, कुस्ती खेल, नयाँ उत्पादन, प्रविधि, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कृषि पवेलियन, अटोमोबाइल्स पवेलियन, सूचना प्रविधि पवेलियन आदिका कक्ष छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।