जनकपुर- गृहमन्त्री रामबहादुर थापा (बादल) ले मुलुकको राष्ट्रिय अखण्डता र शान्ति सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन्।
प्रदेश-२ को जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्रीले देश विखण्डनमा लागेका तथा अराजक गतिविधि एवं अपराधमा लागेकालाई नियन्त्रण गरी सरकारले देशको राष्ट्रिय अखण्डता, शान्ति सुरक्षा कायम गरेर राष्ट्रिय एकताका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे। उनले सिके राउततर्फ इंगित गर्दै मुलुकमा अलग देशको माग लिएर आन्दोलन गर्दै आएकालाई मूलधारमा ल्याउनु ठूलो उपलब्धि भएको बताए।
कतिपय राजनीतिक दलको नाममा, हत्या, हिंसा, चन्दा आतंक तथा अपराधलाई बढावा दिएकाले तिनलाई वार्ताको र नियन्त्रणको माध्यमबाट तह लगाउनेसमेत उनको भनाइ थियो।
छिट्टै नै प्रदेश प्रहरीदेखि जिल्ला प्रहरी कार्यालयसमेत प्रदेश सरकारको मातहतमा जाने स्पष्ट पार्दै उनले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसदमा प्रस्तुत भइसकेकाले हरेक प्रदेशले आफ्नो सुरक्षा संयन्त्र बनाउन सक्ने बताए। यही १६ गतेदेखि बजेट अधिवेशन सुरुवात हुने भएकोले अबको एक वर्षमा विकासका निम्ति कार्य योजना निर्माण हुने र मुलुकको विकासका आधार निर्माण गर्न नेपाल आर्थिक वृद्धिदर प्रमुख हुने उनको विश्वास थियो।
नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रमअनुरूप प्रदेश-२ को जनकपुरधाममा प्रदेशस्तरीय सीमा सुरक्षा बैठकमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्राडा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी, सहसचिव इन्दु घिमिरे लगायत सहभागी छन्।
गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, सीमा सुरक्षा छलफल, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल गरिएको थियो। गोष्ठीमा प्रदेश २ का प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।