जिम्बावे (एजेन्सी)– जिम्बावेमा ३७ वर्षदेखि एकछत्र राज्य चलाउँदै आएका रोबर्ट मुगाबेले अन्ततः राष्ट्रपति पदबाट राजीनामा गरेका छन्।
सेना, आफ्नै दल र स्थानीय जनताको चौतर्फी दबाबपछि ९३ वर्षीय मुगाबे राजीनामा गर्न बाध्य भएका हुन्।
उनको राजीनामापछि राजधानी हरारेमा खुसियाली मनाउन सर्वसाधारणहरु सडकमा ओर्लिएका छन्। यस्तै, उनको राजीनामापत्र संसद भवनभित्र सभामुखले पढेर सुनाइएपछि सासंदहरु खुसीले नाचेका थिए।
सत्तारुढ दल जानु–पिएफले सन् १९८० देखि जिम्बावेको राष्ट्रपति रहेका मुगाबेको उत्तराधिकारीका रुपमा पार्टीका पूर्व उपाध्यक्ष इमर्सन मान्गावा रहने बताएको छ।
जिम्बावेको राजनीतिक माहोल बिग्रिएपछि मुगाबेले गत महिना मान्गावालाई पार्टीबाट बर्खास्त गरेका थिए। उनी आफ्नो उत्तराधिकारीको रुपमा पत्नी ग्रेस मुगाबेलाई उठाउने योजनामा थिए। तर, सेनाले यो कुरालाई अस्वीकार गरेपछि मुगाबे पछाडि हटेका थिए। उनी केही समय घरमै सैनिक नजरबन्दमा परेका थिए।
मुगाबे विश्वको सबैभन्दा पाको उमेरका नेता हुन्। गत साता जिम्बावे सेनाले सत्ताको साँचो आफ्नो हातमा लिँदा पनि उनी राष्ट्रपति पद परित्याग गर्न अनिच्छुक देखिएका थिए। तर, स्थानीय जनताहरु मुगाबेविरुद्ध उत्रिएपछि उनीमाथि दबाब बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।