काठमाडौं : एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले नमिठो हार बेहोरेको छ।
शुक्रबार भएको खेलमा नेपाललाई अस्ट्रेलियाले ११-१ ले पराजित गरेको हो। म्यानमारमा भएको खेलको पहिलो हाफमा ६ गोल खाएको नेपालले दोस्रो हाफमा थप ५ गोल खाएको थियो।
नेपालका लागि पहिलो हाफको मन्जली कुमारी योञ्जन पहिलो हाफको इन्जुरी टाइममा गोल गरेकी थिइन्।
दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यान्मा पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग नमिठो हार बेहोरेको हो।
चीनको सिचुवानमा अभ्यास गरेको नेपालले चीनको यू–१५ महिला टोली र छन्दु प्रान्तको यू–१८ टोलीसँग अभ्यास खेलसमेत खेलेको थियो ।
छनोटमा अष्ट्रेलियापछि नेपालले वैशाख १५ मा उज्बेकिस्तान र १७ गते म्यान्मासँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् । गत कात्तिक दोस्रो साता थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले तीन खेलबाट छ अङ्क बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।
सरु लिम्बूको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, रेबिका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समीक्षा घिमिरे, विमला विश्वकर्मा, पूजा रानामगर, सलोनी रानामगर, सबिता रानामगर, मिडफिल्डरमा, मञ्जलीकुमारी योञ्जन, मेनुका आलेमगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल तथा निर्मला उपाध्याय रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।