राजविराज– संघिय समाजवादी फोरम नेपालको सप्तरी जिल्ला अध्यक्षमा केदार यादव निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा केन्द्रीय सदस्य भीमराज यादवलाई १५ मतले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचन परिणामअनुसार केदारले ३४ र भीमराजले १९ मत प्राप्त गरेका छन्। कुल ५४ मतदातामध्ये ५३ जनाले मतदान गरेका थिए। फोरममा प्रत्येक स्थानीय तहबाट १ महिलासहित ३ जना जिल्ला समवन्य समिति प्रतिनिधि हुने व्यवस्था छ। सप्तरीमा कुल १८ स्थानीय तह छन्।
अध्यक्ष पदमा निर्वाचित यादव यसअघिको कार्य समितिमा सचिव थिए। सर्वसहमतिबाट जिल्ला कार्यसमिति गठन गर्ने प्रयास असफल भएपछि बिहीवार निर्वाचन भएको थियो।
१५ मतको चक्करमा भीमराज
फोरमको अध्यक्षमा पराजित भीमराज यादव स्थानिय तह निर्वाचनमा पनि १५ मतले नै पराजित भएका थिए।
राजविराज नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका उनी राष्ट्रिय जनता पार्टी नेपालका शम्भुप्रसाद यादवसँग पराजित भए। दुवैको मतान्तर १५ थियो।
राजविराज–९ निवासी भीमराजले ४ हजार ९ सय ६४ मत प्राप्त गरेका थिए भने निर्वाचित शम्भु प्रसाद यादवले ४ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए।
पटक–पटक १५ मत पराजित हुने गरेका उनले जनता र पार्टीले सहयोग गरेपनि भाग्यले साथ नदिएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।