पाँचथर- एक नगरपालिका र ७ गाउँपालिकामा चिया खेती गर्दै आएका एक हजारभन्दा बढी कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन्।
१० हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित मूल्य नतोकिँदा मर्कामा परेको कृषकले गुनासो गरेका छन्।
कृषि विकास मन्त्रालय अन्तर्गतको उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) को वेबसाइटमा ग्रामीण जनताको जीविकोपार्जनमा प्रभाव पार्ने स्याउ, अदुवा, बेसार, खसीबोका जस्ता ७ वस्तुलाई 'मूल्य शृङ्खला'मा छनोट गरिएको वस्तुको सूचीमा राखिएको छ।
मूल्य शृङ्खला नबन्दा टि–स्टेटले आफूखुसी तोकेको मूल्यमा कृषक चियाको हरियो पत्ती बेच्न बाध्य छन्। उनीहरु थप चिया खेती विस्तारका लागि उत्साहित नदेखिएको केन्द्रीय चिया सहकारी संघ (सिटिसिएफ) का उपाध्यक्ष राजेन्द्रकुमार जबेगु बताउँछन्।
जिल्लाका अधिकांश चिया कृषकको माग मूल्य शृङ्खला बन्नुपर्ने रहेको फाल्गुनन्द गाउँपालिका–३, पौवाका महेन्द्रकुमार चेम्जोङ बताउँछन्।
मुलुकमै पहिलो अर्गानिक चिया प्रशोधन कारखानाको प्रमाणपत्र पाएको फिदिमको कञ्चनजंघा टि–स्टेट एन्ड रिसर्च सेन्टर प्रालिले वार्षिक ६० हजार हरियो पत्ती साना कृषकबाट लिँदै आएको छ। पहिलो ग्रेडको हरियो पत्तीको प्रतिकिलो रु ७५ र दोस्रो ग्रेडको हरियो पत्तीको प्रतिकिलो रु ५२ मूल्य दिँदै आएको प्रालिका प्रबन्धक निरानन्द आचार्यले बताए।
कञ्चनजंघा टि–स्टेट जिल्लाकै ठूलो चिया प्रशोधन कारखाना हो। यहाँ उत्पादित ‘ए’ ग्रेडको चिया युरोप लगायत अन्य तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ। जिल्लाको लालीखर्क, सराङडाँडा, फाक्तेप, रानीटार, चिलिङ्देन, पौवालगायत स्थानको हरियो पत्ती लिँदै आएको कञ्चनजंघाले कृषकलाई उचित मूल्य दिएको दाबी गरेको छ।
मिक्लाजुङ गाउँपालिका–२, सराङडाँडामा रहेको नर्थ नेपाल टि–स्टेटले चिनियाँ प्रविधिको सानो प्रशोधन कारखाना भित्र्याई ठूला कारखानाको भरमा रहेका कृषकलाई राहत दिएको छ। नर्थ नेपालको पहलमा २०६६ सालमा नेपालमा भित्र्याइएको सो प्रविधि हाल नर्थ नेपालसहित पाँचथरको सातथुम्के चिया उत्पादक सहकारी संस्था एकतीन, लेकाली अग्र्यानिक चिया उद्योग राँके र फक्ताङ्लुङ टि–स्टेट आङ्सराङमा सञ्चालित छन्।
यसबाट हरियो पत्ती बेच्न ठूला कारखानाकै भर पर्नुपर्ने अवस्थाबाट कृषक मुक्त भएको नर्थ नेपालका सञ्चालक समिति सदस्य राजु शेर्माले बताए। नजिकै प्रशोधन कारखाना भएपछि कृषकमा थप उत्साह बढेको छ। अहिले नर्थ नेपालले जिल्लाको रवि, सराङ्डाँडा, ओलने र इलामको फुएँतप्पाका कृषकले उत्पादन गरेको हरियो पत्ती लिने गरेको छ।
२०३९ सालमा तत्कालीन सरकारले पाँचथरसहित पूर्वका इलाम, झापा, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्र घोषणा गरेपछि पाँचथरमा व्यावसायिक चिया खेती सुरुवात भएको हो। जिल्लाकै पहिलो टि–स्टेट कञ्चनजंघाले २०४० मा बगान विस्तार गरेको थियो।
पाँचथरमा अहिले करिब एक दर्जन चिया प्रशोधन कारखाना छन् भने १३ वटा चिया उत्पादक सहकारी संस्थामा करिब एक हजार ५ सय चिया कृषक आबद्ध रहेको केन्द्रीय चिया सहकारी संघ (सिटिसिएफ) का उपाध्यक्ष जबेगुले बताए।
हालसम्म देशभर ११० चिया सहकारी दर्ता भएकामा ९४ सहकारी सिटिसिएफमा आबद्ध छन्। साना कृषकलाई सहकारीको मूल्य, मान्यता र सिद्धान्तभित्र आबद्ध गराई हरियो पत्तीको मूल्यमा कृषकको पहुँच विस्तार गर्न संघ लागिपरेको जबेगुले बताए।
हरियो पत्तीको उचित मूल्य नपाउँदा र पत्ती निर्यातका लागि सहज अवस्था सिर्जना नहुँदा कृषकका कतिपय बगान जंगलमा परिणत हुँदै गएका छन्। मूल्य र निर्यातमा देखिएको समस्याकै कारण भएका राम्रा बगानको समेत कृषकले उचित हेरचाह नगर्ने गरेको पाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजनाको कार्यालय फिदिम नपा–३, लालीखर्कका प्राविधिक दीपक चौधरीले बताए।
सरकारी बगान नै बाँझो
जिल्लामा चिया खेती विस्तारका लागि ठोस योजना बन्न नसक्दा सरकारी बगानका अधिकांश जमिन नै बाँझो रहेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजनाको नाममा जिल्लाको फिदिम नपा–३, लालीखर्कमा रहेको कूल जमिनको २६ रोपनी क्षेत्रफल बाँझो रहेको छ।
एक सय रोपनी क्षेत्रफलमध्ये ५ रोपनी कार्यालयको भवनले तथा ४ रोपनी खोल्साखोल्सीले ओगटेको छ। करिब ६५ रोपनीमा चिया रोपण गरिएको छ भने २६ रोपनी वर्षौंदेखि बाँझो रहेको छ। उक्त बगानमा अहिले २५ हजार ७५१ बोट चिया रहेको कार्यालयका निमित्त योजना प्रमुख प्रेमकुमार थिङले बताए।
सोही कार्यालय मातहत रहेको जिल्लाको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्दीन उपकेन्द्रको ३५ रोपनीमध्ये करिब १० रोपनीमा मात्र चिया रोपण गरिएको छ। उक्त बगानमा हालसम्ममा ४ हजार ५ सय मात्र चियाका बिरुवा लगाइएको छ। करिब २५ रोपनी क्षेत्रफल वर्षौंदेखि खाली रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।