काठमाडाैं- सत्तारुढ दल नेकपाका विभिन्न ४ भातृसंगठनहरुले निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यले तोकेको कर नतिर्दासम्म सिम नै प्रयोग नगर्न अपिल गरेका छन्।
वाइसिएल नेपाल, अनेरास्ववियू, युवासंघ नेपाल र अनेरास्ववियूका अध्यक्षहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सुहलियत दिने जस्ता राष्ट्रघाती निर्णय नगर्न सम्बद्ध निकायहरुसँग आग्रह गरेको हो।
साथै विज्ञप्तिमा कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न नगराउन मातहतका सबै साथीहरु र आम जनसमुदायमा अपिल गरिएको छ।
'एनसेलले राज्यलाई तिर्नुपर्ने करको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले फैसला गरेको र ठूला करदाता कार्यालयले ७ दिनको समयसीमा तोकेकोमा त्यसमा पनि आनाकानी गरेको अवस्थाले हामीलाई ज्यादै गम्भीर बनाएको छ। सर्वोच्च अदालतको फैसलालाई समेत अवज्ञा गर्ने एनसेलको यस्तो रवैयाँ खेदजनक छ। कर तिर्न नपरोस भन्ने मनसायले उसले गर्ने कुनै पनि चालबाजी वा बाहनाबाजी हामीलाई किमार्थ स्वीकार्य छैन', विज्ञप्तिमा भनिएकाे छ।
विज्ञप्तिमा एनसेललाई पनि सिघ्रातिसिघ्र कर बुझाउन अपिलसमेत गरिएकाे छ। २४ घन्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गर्ने पनि जनाइएकाे छ।
यस्तो छ विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।