काठमाडौं– नेपाल प्रहरीका चार डिआईजीलाई एआईजी बढुवा सिफारीसविरुद्ध उजुरी गर्ने म्याद सकिएको छ । सिफारीस उपर कसैले पनि उजुरी गरेनन्।
गत आइतबार गृहसचिव मोहनकृष्ण सापकोटा अध्यक्षताको बढुवा सिफारीस समितिले चार डिआईजीलाई एआईजी बढुवामा सिफारीस गरेको थियो। डिआइजीहरू हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआइजी बढुवामा सिफारिस गरिएको थियो । समितिले सिफारिसमा चित्त नबुझे एक साताभित्र उजुरी गर्न सक्ने प्रावधान प्रहरी नियमावलीमा छ।
आइतबार उजुरी गर्ने म्याद सकिएको र कसैको पनि उजुरी नपरेको प्रहरीको प्रशासन विभागका एआईजी माधव जोशीले जानकारी दिए । बढुवा सिफारीस भएकाहरु अब मन्त्रिपरिषद् बैठकमार्फत बढुवा हुने छ ।
प्रहरीमा दुई वटा मात्र एआईजीको दरबन्दी रहेकोमा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सुरक्षा परिषद् र प्रहरी महानिरीक्षकको कार्यालयमा रहने गरी दुई एआइजीको दरबन्दी थप गरेको थियो । सोही अनुसार चार जनालाई बढुवा गरिएको थियो । उनीहरुको बढु्वासँगै नेपाल प्रहरीमा एआईजीको संख्या १६ पुग्ने छन्।
हाल नेपाल प्रहरीमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, माधव जोशी, पशुपति उपाध्याय, केशरी घिमिरे, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजय भट्ट एआइजी छन् । त्यस्तै प्रहरी अस्पतालमा एआईजी डा.दिनेशचन्द्र पोखरेल कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।