फाइल तस्बिर
काठमाडौं- नेत्रवित्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य तथा मध्य क्षेत्रीय कमान्ड हेमन्त प्रकाश ओली कारागार चलान भएका छन्।
उनलाई जिल्ला अदालत ललितपुरले मंगलबार थुनामा राख्न आदेश दिएको हो।
अदालतको आदेशसँगै उनी ललितपुरस्थित नख्खु कारागार चलान भएका छन्।
नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम बिस्फोटको घटनामा संलग्न भएको भन्दै उनीमाथि श्यामप्रसाद गुरुङले जाहेरी दिएका थिए।
श्याम प्रसादका भाइ सिमप्रसाद गुरुङले सोही विस्फोटमा परी ज्यान गुमाएका थिए भने अन्य दुई जना गम्भीर घाइते भएका थिए।
उक्त घटानापछि ओलीले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी समेत लिएका थिए।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली काभ्रैबाट पक्राउ गरेको थियो।
उनीवरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको थियो।
उनीसँगै सोही मुद्दामा पक्राउ परेका अन्य व्यक्तिहरु शिव धमला भनिने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, इश्वर परियार र विरबहादुर कडायतसमेत गरी ६ जना कारागार चलान भएक छन्।
उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। यसअघि ओलीका तर्फबाट साधारण तारेखमा रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो।
तर सर्वोच्चले सो रिट खारेज गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।