काठमाडौं- संघीय संसद्को दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्टको कार्यशैलीप्रति सदस्य सांसद्हरुले आपत्ति जनाएका छन्।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्य प्रमिला कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी कार्ययोजना बनाउने गरेको उल्लेख गर्दै आपत्ति जनाएकी हुन्।
समितिको बैठकमा आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो। तर सदस्य कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी आफूहरुलाई बोल्न समेत दिने नगरेको भन्दै समितिको सदस्यबाट राजीनामा दिने चेतावनी समेत दिएकी छन्।
समितिले आयोजना गरेको दिगो विकास लक्ष्यका सम्बन्धी गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बुटवलमा आयोजना गरिएको जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सभापतिले आफूलाई जानकारी नदिएको समितिकी सदस्य कुमारीको आरोप छ।
संघीय समाजवादी फोरम, नेपालकी सांसदसमेत रहेकी कुमारीले प्रश्न गरिन्, 'प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तर्क्रिया गराउने कार्यक्रममा सहभागी किन नगराइएको?'
समितिका अर्का सदस्य खिमकुमार विश्वकर्माले राजनीतिक प्रभावमा परेर सभापति भट्टले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै आपत्ति जनाए।
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टीका सांसद समेत रहनु भएका उनले राजनीतिक आस्थाको आधारमा अघि बढ्ने हो भने सभापति भट्टको कुनै पनि कार्ययोजना आफूलाई स्वीकार्य नहुने चेतावनी पनि दिए।
भट्ट काँग्रेसका तर्फबाट समितिको सभापतिमा चयन भएकी हुन्। उनीमाथि राजनीतिक प्रभावमा परी काम गरेको समितिका सदस्यहरुको आरोप छ।
यता, सभापति भट्टले भने आफूले राजनीतिक प्रभावमा परेर कार्ययोजना तय नगरेको दाबी गरिन्। पक्ष, प्रतिपक्षमा नलागी आफूले सबैलाई सहभागी गराएर समितिको आगामी कार्ययोजना तय गरिरहेको पनि बताएकी छन्।
समितिकी सभापति भट्टले समितिका सबै सदस्यको उपस्थितिमा कार्ययोजना तय गर्न आफू लागी परेको पनि बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।