पोखरा - एमबिबिएस तथा बिडिएस अध्ययनरत विद्यार्थीसँग मनपरी शुल्क असुलेको भन्दै ठगी मुद्दामा फरार रहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्याल सोमबार सुटुक्क कास्की अदालतमा पुगेका छन्।
कलेजका अध्यक्ष अर्याल अदालतमा बयानका लागि बिहान १० बजे पुगेका थिए। अदालतबाट उनी १७ लाख धरौटी बुझाएर रिहा भएका छन्। अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्।
न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले अर्याललाई १७ लाख रुपैयाँ धरौटीमा रिहा आदेश गरेको हो।
ठगी मुद्दा नै लागेका कलेजका अन्य ७ जना पनि यसअघि धरौटीमा रिहा भएका थिए। सरकारले तोकेभन्दा १५ लाखसम्म बढी शुल्क लिएर कलेजले ठगी गरेको भन्दै विद्यार्थीले अर्यालसहित ११ जनालाई उजुरी गरेका थिए।
तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए। सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गरेका थिए। विद्यार्थीको आन्दोलनका कारण कलेज ४५ दिनसम्म बन्द भएको थियो।।
कलेजले विद्यार्थीसँग बढी रकम लिएको निस्कर्ष निकाल्दै शिक्षा मन्त्रालयले समेत एक महिनाअघि विद्यार्थीको पैसा फिर्ता गराउन सहमति गरेको थियो। कलेजका प्रशासनले विद्यार्थीको रकम फिर्ता गर्ने सहमति गरेका थिए। तर, एक महिनाभित्र रकम फिर्ता गर्ने सहमति सकिसक्दा पनि विद्यार्थीले भने पैसा फिर्ता पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।