रत्ननगर, चितवन- ‘भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चारबुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ।
कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वौच्च केन्द्र बनाई त्यस अन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘स्याटालाइट केन्द्र‘ बनाउने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमका डिन डा भूमिनन्द देवकोटाले जानकारी दिए।
उनका अनुसार सम्मेलनले गुणस्तरीय दूध उत्पादनका लागि थुनिलो रोग नियन्त्रण गर्न ‘एसियन मस्टाइटिस काउन्सिल’ स्थापना गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भैंसी अनुसन्धानमा संलग्न संस्था तथा विश्वविद्यालयबीच साझेदारी र सहकार्यको विकास गर्ने निष्कर्ष निकालेको छ।
सम्मेलनको आयोजक राष्ट्रको हैसियतले निकट भविष्यमा नै ‘एसियन बफेलो कांग्रेस’ आयोजना गर्नका लागि प्रस्ताव पेश गर्ने निष्कर्ष निकालिएको विश्वविद्यालयका उपप्राध्यापक निराजन भट्टराईले जानकारी दिए।
सम्मेलनमा भैंसी उत्पादन, व्यवस्थापन, स्वास्थ्य, आनुवंशिक विकास, जैविक प्रविधि तथा नीतिगत विषयमा ५ वटा विशेष, १४ वटा आमन्त्रित, २७ वटा मौखिक, ३३ वटा पोस्टर गरी ७९ वटा प्राविधिक कार्यपत्र प्रस्तुत भएको थियो।
सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानडा, इटालीका गरी करिब दुई सय विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ता र विद्यार्थीको सहभागिता थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।