यो हप्ताको अङ्कमा मेरो मित्र डा बासुले गोएबल्सलेझैं भारतमा फेक न्युज बनाउने कारखानाबारे लेखेका छन्। ‘झूठ’का यस्ता कारखाना धेरजसो मोदीभक्तहरू नै चलाउँछन्। ‘झूठ’को कारखानाबाट जुन हानी हुँदैछ, म सम्पादकीयबाट बताउने कोसिस गर्न चाहन्छु।
केही दिनअघि गणेश चतुर्थी थियो। त्यो दिन सोसल मिडियामा एउटा‘झूठ’फैलाइयो। फैलाउने सङ्घ (राष्ट्रिय स्वंय सेवक सङ्घ) का मानिस नै थिए।
त्यो ‘झूठ’ के थियो त?
त्यो ‘झूठ’ थियो, कर्नाटक सरकारले जहाँ भन्छ, त्यहीँ गणेशजीको प्रतिमा स्थापना गरिनुपर्छ। तर त्यसभन्दा अघि १० लाख रुपियाँ जम्मा गरिनुपर्छ। प्रतिमाको उचाइबारे सरकारसित अनुमति लिइनुपर्नेछ। अन्य धर्मावलम्बीहरू जहाँ बस्छन्, त्यो बाटो बिसर्जनका लागि हिँड्न पाइन्न। पटेका पड्काउन पाइन्न।
सङ्घका मानिसले यो ‘झूठ’खुब फैलाए। यति जोरले यो ‘झूठ’फैलियो कि कर्नाटक पुलिस प्रमुख आरके दत्तालाई प्रेस बोलाउनु पऱ्यो। उनले स्पष्टीकरण दिए, 'सरकारले यस्तो कुनै नियम बनाएको छैन, यी सबै अफवाह हुन्।'
यो ‘झूठ’को सोर्स खोज्दै जाँदा 'पोस्टकार्ड डट न्युज' नामको वेबसाइट भेटियो, जुन वेबसाइट कट्टर हिन्दुत्ववादीहरूको हो। यसको काम हरेक दिन फेक न्युज बनाउनु र त्यसलाई सोसल मिडियामा भाइरल बनाउनु हो।
११ अगस्टको 'पोस्टकार्ड डट न्युज'मा एउटा हेडिङ थियो- कर्नाटकमा तालिवान सरकार।
यही हेडिङमा राज्यभरि ‘झूठ’ फैलाउने कोसिस भयो। सङ्घका मानिस सफल पनि भए।
जो मानिस कुनै न कुनै कारण सिद्धारमैया सरकारदेखि रिसाइबस्छन्, उनीहरूले यो फेक न्युजलाई हतियार बनाए। सबैभन्दा आश्चर्य र खेदको कुरा यो हो कि, मानिसले जाँचबुझ नगरी फेक न्युजलाई साँचो माने। आफ्नो कान, नाक र दिमागको प्रयोग गरेनन्।
पछिल्लो हप्ता जब कोर्टले राम रहिम नामका एक ढोंगी बाबाविरुद्ध बलात्कारको मामिलामा दण्ड सुनायो तब उनीसित बिजेपीका नेताहरूको फोटो सोसल मिडियामा खुब छायो। यी ढोंगी बाबासित मोदीसहित हरियाणाका विजेपी विधायकहरूको फोटो र भिडियो भाइरल बन्न थाल्यो। यसले बिजेपी र सङ्घका मानिस तनावमा परे। यसैलाई काउन्टर गर्न गुरमित बाबाको छेउमा केरलका सिपिएमका मुख्यमन्त्री पिनराई विजयन बसिरहेको फोटो भाइरल भयो। त्यो फोटोसपमा बनाइएको थियो।
असली फोटोमा कांग्रेसका नेता ओमन चान्डी बसेका छन् तर उनको टाउको काटेर विजयनको टाउको जोडिदियो र सङ्घका मानिसले यसलाई सोसल मिडियामा भाइरल गरिदिए।
यद्दपि, उनीहरू यसमा सफल बनेनन् किन भने केहीबेरमा नै असली फोटो पनि भाइरल बन्यो।
वास्तवमा अघिल्लो वर्षसम्म राष्ट्रिय स्वंयसेवक सङ्घका फेक न्युज प्रोपोगान्डालाई रोक्न वा त्यसलाई अघि ल्याउन कोही थिएनन्। अहिले धेरै मानिस यो काममा जुटेका छन्। राम्रो कुरा के हो भने, पहिले फेक न्युज चलिबस्थ्यो अहिले असली न्युज पनि सँगसँगै चल्न थालेको छ। अनि मानिसले पनि पढ्न थालेका छन्।
उदाहरणका लागि १५ अगस्टको दिन जब लालकिल्लाबाट प्रधानमन्त्री मोदीले भाषण दिए त्यसको विश्लेषण १७ अगस्टदेखि खुबै भाइरल बन्यो। ध्रुव राठीले त्यो विश्लेषण गरेका थिए। ध्रुव राठी हेर्दा त कलेजियनजस्तो देखिन्थे तर पछिल्लो समय मोदीको ‘झूठ’को पोल सोसल मिडियामा खोलिरहेका थिए।
पहिले यो भिडियो हामीजस्ता मानिसले मात्र हेरिरहेका थियौँ, आममानिस सम्म पुगेको थिएन। तर, अगस्टमा त्यो भिडियो एक दिनमा एक लाखभन्दा धेरैसम्म पुग्यो।
ध्रुव राठीले बताए कि ‘बुसी बसिया’ (मुख खोल्यो कि झूठ बोल्यो) को सरकारले राज्यसभामा पहिले भन्यो कि, महिनाभरमा ३३ लाख नयाँ करदाता आएका छन्। त्योभन्दा अघि पनि वित्तमन्त्री जेटलीले ९१ लाख नयाँ करदाता जोडिएको कुरा गरेका थिए। अन्तमा आर्थिक सर्वेमा भनियो कि, केवल ५ लाख ४० हजार नयाँ करदाता जोडिएका छन्।
तब यसमा कुन साँचो हो, कुन असत्य?
यही सवाल ध्रुव राठीले आफ्नो भिडियोमा उठाएका थिए।

गौरी लंकेशको हत्यापछि शोकसभामा जम्मा भएका मानिस
आजका 'मेनस्ट्रिम मिडिया' केन्द्र सरकार अनि बिजेपीले दिएका आँकडालाई वेद वाक्यजस्तो फैलाउँछन्। मेनस्ट्रिम मिडियालाई सरकारले बोलेको कुरा वेद वाक्य भइसकेको छ। त्यसमा पनि टिभी न्युज च्यानलहरू छन्, जो यस काममा १० कदम अघि छन्।
उदाहरणका लागि जब रामनाथ कोविन्दले राष्ट्रपति पदको शपथ लिए, तब धेरै अङ्ग्रेजी टिभी च्यानलले खबर चलाए र भने, 'केवल एक घन्टामा ट्विटरमा राष्ट्रपति कोविन्दका फलोवरको संख्या ३० लाख भइसकेको छ। उनीहरू चिच्याइबसे ३० लाख, ३० लाख।
उसको उद्देश्य थियो कि, कति मानिसले कोविन्दलाई सपोर्ट गरिरहेका छन्।
धेरै टिभी च्यानल आज राष्ट्रिय स्वंयसेवक सङ्घको टिमसरह भइसकेका छन्। सङ्घको काम गर्छन्।
वास्तविकता के थियो भने, त्यस दिन पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सरकारी अकाउन्ट नयाँ राष्ट्रपतिको नाम गरिएको थियो। जब यो परिवर्तन भयो तब राष्ट्रपति भवनका फलोवर अब कोविन्दका फलोवर बने। ध्यान दिनुपर्ने कुरा त यो पनि हो कि, प्रणव मुखर्जीलाई पनि ३० लाखभन्दा धेरै मानिसले ट्विटरमा फलो गर्थे।
अहिले त राष्ट्रिय स्वयंसेवक सङ्घले यस प्रकार फैलाउने फेक न्युजको वास्तविकता उजागर गर्न धेरै मानिस अघि आइसकेका छन्।
ध्रुव राठी भिडियोको माध्यमबाट यो काम गरिरहेका छन्। प्रतीक सिन्हा 'एएलटिन्युज डट इन' नामको वेबसाइटबाट यो काम गरिरहेका छन्। 'होक्स स्लेयर', 'बुम' अनि 'फ्याक्ट चेक' नामका वेबसाइटले पनि काम गरिरहेका छन्। 'द वायर डट इन', 'स्क्रोल डट इन', 'न्युजलन्ड्री डट कम', 'दक्विन्ट डट कम'जस्ता वेब साइट पनि सक्रिय छन्। जसको पनि नाम लिएको छु, उनीहरूले हालैमा पनि धेरै फेक न्युजको वास्तविकता बाहिर ल्याइसकेका छन्।
यी कामबाट सङ्घका मानिस रिसले चूर छन्। महत्वपूर्ण कुरा त यो छ कि, उनीहरू पैसाको लागि काम गरिरहेका छैनन्। उनीहरूको एउटै उद्देश्य हो कि, फासिस्ट मानिसको ‘झूठ’ कारखानाको पर्दाफास।
केही हप्ताअघि बेङ्गलुरुमा भीषण पानी परेको थियो। त्यस समय पनि सङ्घका मानिसले एउटा फोटो भाइरल गरे, अनि क्याप्सनमा लेखे, 'नासाले मङ्गल ग्रहमा मानिस हिँडेको फोटो सार्वजनिक गरेको छ।'
बेङ्गलुरु नगरपालिका बिबिएमसीले वयान दियो कि, यो मङ्गल ग्रहको फोटो होइन। सङ्घको उद्देश्य थियो, मङ्गलग्रह भनेर बेङ्गलुरुको मजाक उडाउनु। मानिसले सम्झुन् बेङ्गलुरूमा सिद्धारमैयाको सरकारले केही काम गरेको छैन।
यहाँको बाटो भत्किएको छ। यस्तै प्रोपोगान्डा गरेर झुटा खबर फैलाउनु सङ्घको उद्देश्य थियो। तर, त्यही उद्देश्य भारी बन्यो, किन भने त्यो फोटो बेङ्गलुरूको नभई महाराष्ट्रको थियो। जहाँ बिजेपीको सरकार छ।
हालैमा पश्चिम बङ्गालमा जब दङ्गा भयो, तब आरएसएसका मानिसले दुईवटा पोस्टर जारी गरे। एक पोस्टरको क्याप्सन थियो, 'बङ्गाल जलिरहेको छ। त्यसमा सम्पत्ति जलिरहेको नक्सा थियो। अर्कोमा, एक महिलाको सारी तानिरहेको चित्र थियो। अनि क्याप्सन थियो, बङ्गालमा हिन्दू महिलामाथि अत्याचार भइरहेको छ।
छिट्टै यी चित्रहरूको वास्तविकता अघि आयो। पहिलो चित्र सन् २००२ को गुजरात दङ्गाको थियो, अर्को चित्र भोजपुरी फिल्मको एउटा दृश्यको थियो।
केवल आरएसएस मात्र होइन बिजेपीका केन्द्रीय नेताहरू पनि यस्ता फेक न्युज फैलाउन माहिर छन्।
उहादरणका लागि, केन्द्रीय मन्त्री नितिन गडकरीले फोटो सेयर गरे, जसमा केही मानिस तिरङ्गा झन्डामा आगो लगाइरहेका थिए।
अहिले गुगल इमेज सर्चको एउटा नयाँ एप्लिकेसन आएको छ। त्यसमा तपाईं कुनै पनि फोटो हालेर जान्न सक्नुहुन्छ, त्यो कहाँ अनि कहिलेको हो।
प्रतीक सिन्हाले यही काम गरे, त्यही एप्लिकेसनको सहयोगमा गडकरीले सेयर गरेको फोटोको वास्तविकता अघि ल्याए। पत्तो लाग्यो कि, फोटो हैदरावादको होइन, पाकिस्तानको हो, जहाँ एक प्रतिबन्धित कट्टरपन्थी सङ्गठन भारतको विरोधमा तिरङ्गा जलाइरहेको छ।
यस्तै, टिभी प्यानल बहसमा बिजेपीका प्रवक्ता संवित पात्राले भने कि, सिमानामा सैनिकलाई तिरङ्गा लहराउनमा कति समस्या छ। फेरि जेएनयू जस्ता विश्वविद्यालमा तिरङ्गा लहराउनमा के समस्या छ? यही प्रश्न गर्दै संवितले एउटा चित्र देखाए। पछि थाहा भयो, त्यो निक्कै चर्चित चित्र थियो, तर ती भारतीय नभई अमेरिकी सैनिक थिए। दोस्रो विश्व युद्धको बेला अमेरिकी सैनिकले जब जापानको एउटा द्वीप कब्जा गरे तब आफ्नो झन्डा लहराएका थिए। तर, फोटोसपबाट बनाइएको चित्र देखाएर संवित पात्रा मानिसलाई आँखामा धुलो हालिरहेका थिए। जो उनका लागि निक्कै गाह्रो बन्यो, ट्विटरमा उनको धेरै मजाक उडाइएको थियो।
केन्द्रीय मन्त्री पीयूष गोयलले हालै एउटा तस्वीर सेयर गरे। लेखे- ५० हजार किलोमिटर बाटोमा सरकारले ३० लाख एलईडी बल्ब लगाएको छ। तर, जुन तस्वीर उनले पोस्ट गरेका थिए, त्यो फेक निस्कियो। त्यो फोटो भारतको नभई, सन् २००९ को जापानको थियो।
गोयलले पहिले पनि एउटा ट्विट गरेका थिए कि, कोइलाको आपूर्तिबाट सरकारले २५ हजार ९ सय करोड वचत गरेको छ। तर त्यो पनि ‘झूठ’ निस्कियो।
छत्तीसगढका पिडब्ल्युडी मन्त्री राजेश मूणतले एउटा पुलको फोटो सेयर गरे। आफ्नो सरकारको सफलता बताए। त्यो ट्विटले २ हजार लाइक पायो। पछि थाहा भयो, त्यो फोटो छत्तीसगढ़को थिएन, भियतनामको थियो।
यस्ता फेक न्युज फैलाउनमा हाम्रो कर्नाटकका आरएसएस अनि विजेपीका नेताहरू पनि कम छैनन्।
कर्नाटकका सांसद प्रताप सिंहाले एउटा रिपोर्ट सेयर गरे। भने, यो टाइम्स अफ इन्डियामा आएको हो। त्यसको हेडलाइन थियो- 'हिन्दू युवतीलाई एक मुसलमानले छुरी हानेर हत्या गऱ्यो।' संसारभरका मानिसलाई नैतिकताको पाठ सिकाउने प्रताप सिंहाले वास्तविकता जान्ने कुनै कोसिस गरेनन्। कुनै पनि पत्रिकाले यस्ता समाचार छापेको थिएन। फोटोसफबाट कुनै अर्को समाचारमा यस्तो हेडलाइन राखिएको थियो अनि हिन्दू-मुस्लिमको रङ लगाइएको थियो।
यसका लागि टाइम्स अफ इन्डियाको नाम प्रयोग गरियो। जब यो फेक न्युज भनेर भाइरल बन्यो तब सांसदले डिलिट हानिदिए तर माफी मागेनन्। साम्प्रादायिक ‘झूठ’ फैलाएकोमा कुनै पश्चताप पनि गरेनन्।
जस्तो कि, मेरो मित्र बासुले यसपल्टको स्तम्भमा लेखेका छन्, 'मैले पनि एउटा फेक न्युज सेयर गरें। पछिल्लो आइतबार पटनाको आफ्नो ऱ्यालीको तस्वीर लालु यादवले फोटोसप गरेर सेयर गरिदिए। केहीक्षणपछि मित्र शशिधरले बताए कि, फोटो फर्जी हो, नक्कली हो। मैले तुरन्तै हटाएँ अनि गल्ती स्वीकारेँ। यतिमात्र होइन असली र नकल्ली दुवै एकैचोटि राखेर ट्विट पनि गरें। यो साम्प्रादायिक हिंसा फैलाउन र प्रोपोगान्डा गर्न थिएन, फासिस्टहरू विरुद्ध मानिस भेला भइरहेका थिए, यसको सन्देश दिनु मेरो उद्देश्य थियो।'
अन्तमा, जसले पनि फेक न्युज उजागर गर्छन्, उनलाई मेरो सलाम। म ठान्छु, यसको संख्या अझ बढेर जाओस्।
('गौरी लंकेश पत्रिके' मा छापिएको गौरी लङ्केशको अन्तिम सम्पादकीय)
अनुवाद- मनोज बोगटी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।