रामपुर, पाल्पा- पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ।
पिडा काठमाडौं नेपाल, काठमाडौं अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्यालमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको काम सहज भएको हो।
हावाबाट १२ सय वाट क्षमताको विद्युत निकालिएको हो। निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा बिजुली बत्तीसँगै विद्युतबाट आवश्यक सबै काम गर्न सजिलो भएको वडाध्यक्ष नेउबहादुर सुनारीले बताए।
कम्प्युटर चलाउन तथा बत्ती बाल्न पाएपछि कार्यालयको कामसमेत प्रभावकारी भएको छ। बाक्लो मगर बस्ती रहेको मित्यालडाँडामा चलेको पङ्खाबाट बिजुली निस्केपछि गाउँका स्थानीयवासी दङ्ग छन्।
मित्याल बजारको वडा कार्यालय प्राङ्गणमा रहेको एउटा पोलमा राखिएको पङ्खाबाट विद्युत् सेवा पाइने भएपछि हावाबाट बिजुली निस्कने कुरा विश्वास नगरेका यहाँका स्थानीयवासी अहिले भने अन्य पोलबाट गाउँ नै उज्यालो पार्ने कार्यतर्फ लागेको स्थानीयवासी धनबहादुर ठाडाले बताए।
मित्यालबाट निकट भविष्यमा नै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपालले पनि हावाबाट बिजुली निकाल्ने र निस्दी गाउँपालिकाका झ्याल्टुक, मौलाथर, घुम्सीवर र मित्याल बजार रुक्सेभन्ज्याङ्ग लगायतका सबै सरकारी तथा गैरसरकारी कार्यालयमा हावाबाटै बिजुली निकालेर सेवा दिने योजना रहेको केन्द्रले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।