रुकुम– बाँफिकोट गाउँपालिका– ७ की २२ वर्षीय कमला खत्रीलाई सुत्केरी व्यथाले च्यापेपछि आफन्तले जिल्ला अस्पताल सल्ले पुर्याए।
तर, सुत्केरी गराउन साताअघि अस्पताल पुगेकी कमलाको कुनै उपचार भएन्। यसपछि आफन्तले उनलाई २० हजार रुपैयाँ भाडा तिरेर एम्बुलेन्सबाट नेपालगञ्ज पुर्याए।
कमला जस्तै त्रिवेणी गाउँपालिका– ५ की विष्णुकला घर्तीलाई पनि सुत्केरी व्यथाले च्यापेको थियो। उनी पनि जिल्ला अस्पताल सल्ले पुगिन्। उनको पनि उपचार सुरु नभएपछि आफन्तले २० हजार भाडा तिरेर एम्बुलेन्समार्फत कोहलपुर पुर्याए।
यी त केहि प्रतिनिधि पात्रमात्र हुन्। विगत दुई महिनादेखि जिल्ला अस्पताल सल्लेमा सुत्केरी हुन आउने महिलाले यस्तै समस्या भोग्नु परेको छ।
जिल्ला अस्पतालमा सुत्केरी हुन आउने जटिल अवस्थाका महिलाले दाङ वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ। एक महिनामा करिब ९० भन्दाबढी महिला सुत्केरीको ब्यथा च्यापेर अस्पताल आउने गरेका छन्। जसमध्ये १० देखि १५ जना मात्र जटिल अवस्थाका हुने गर्छन्।
अलिकति अफ्ठेरो अवस्थाका महिलालाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहको स्वयम बिरामीले नै गुनासो गरेका छन्। साउन र भदौ महिनाको १९ गतेसम्म सुत्केरीका लागि अस्पताल पुगेका ९९ गर्भवती महिलामध्ये ७९ जनाले मात्रै अस्पतालको प्रसूतिगृहबाट सेवा लिएका छन्।
जटिल अवस्थामा अस्पताल पुगेका २० जना महिला भने सुत्केरी हुन दाङ वा नेपालगन्ज जानु पर्ने बाध्यता छ। जिल्ला अस्पतालका अनुसार साउन महिनामा १५ र भदौ महिनाको हालसम्म पाँचजना गर्भवती महिलालाई जटिल अवस्था देखिएकै कारण शल्यक्रियाका लागि जिल्लाबाहिर पठाएको छ।
सुत्केरी गराउन जिल्लावहिर जानुपर्दा प्रत्येकले १५ देखि २० हजारसम्म एम्बुलेन्सको भाडा तिर्नुपर्ने बाध्यता छ। सुत्केरीका लागि दाङ वा नेपालगन्ज जाने गरेका छन्।
गत आर्थिक वर्ष २०७३÷७४ को अन्त्यसम्म जटिल अवस्थाको शल्यक्रिया जिल्ला अस्पतालमै हुने गर्दथ्यो। यस आवको अन्त्यतिर प्रसूति शल्यक्रियाका चिकित्सकले जागिर छाडेपछि जिल्लावासी समस्यामा परेका हुन्।
प्रसूति गृहमा कार्यरत स्वास्थ्यकर्मीले थोरै जटिल देखे पनि सुत्केरीका लागि नेपालगञ्ज रेफर गर्ने गरेको बिरामीको भनाइ छ। ‘यहाँ शल्यक्रिया हुन छाडेको दुई महिना पुग्नै लाग्यो, त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले भने– ‘जोखिम मोल्नुभन्दा रेफर गर्ने गरेका छौं।’
जिल्ला अस्पताल प्रमुख डा। सविन पोखरेलले विशेषज्ञ चिकित्सक नभएपछि जटिल अवस्थाका सुत्केरी गराउन समस्या परेको बताए। ‘थप सेवा गर्न आग्रह गर्दागर्दै पनि चिकित्सकले जागिर छोडेर जानुभयो,’ उनले भने, ‘अब हामी जतिसक्दो छिटो नयाँ विशेषज्ञ चिकित्सक ल्याउने पक्षमा छौ, चिकित्सक आउने वितिकै समस्या समधान हुन्छ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।