जकार्ता– इन्डोनेसियाको राजधानी जकार्तामा हजारौं इन्डोनेसियालीले म्यान्मारका अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्याको समर्थनमा बुधबार प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले रोहिंग्यामाथि म्यान्मार सरकारले गरिरहेको दमनको विरोध गर्दै म्यानमारसँगको सम्बन्ध तोड्न सरकारसँग माग गरेका छन्। उनीहरूले म्यान्मारका राजदूतलाई फिर्ता पठाउन समेत माग गरेका छन्।
अधिक मुस्लिम जनसंख्याको बसोबास भएको इन्डोनेसियामा अहिले निरन्तरजस्तै म्यान्मारविरोधी प्रदर्शन भइरहेका छन्। यसैगरी, मलेसियाको राजधानी क्वालालाम्पुरमा पनि रोहिंग्याको समर्थनमा प्रदर्शन भएका छन्।
प्रदर्शनकारीबाट जोगाउन इन्डोनेसियाली प्रहरीले जकार्तास्थित म्यान्मारको दूतावास वरपरको सडकमा कडा सुरक्षा व्यवस्था गर्नुका साथै काँडेतार लगाएको छ। पानीको फोहोरासहित दंगा प्रहरीले सडकमा गस्ती गरेको छ।
केही प्रदर्शनकारीले ‘अल्लाहु अकबर’, ‘म्यान्मारलाई सिध्याउ’ र ‘म्यान्मारी दूतावासमा आगो लगाउ’जस्ता नारा लगाएका थिए।
केही प्रदर्शनकारीले इन्डोसियामा मुस्लिमले बौद्धलाई सम्मान गरे जति नै म्यान्मारका बौद्धले रोहिंग्याको सम्मान गर्नुपर्ने बताएका थिए।
म्यान्मारको उत्तरपश्चिमी प्रान्त रखाइनमा रोहिंग्या लडाकू र सेनाबीच भिडन्त सुरु भएपछि १ लाख २५ हजारभन्दा धेरै अल्पसंख्यक रोहिंग्या मुसलमान थातथलो छाडेर पलायन हुन वाध्य भएका छन्। हजारौं रोहिंग्या छिमेकी बंगलादेश तर्फ भागेका छन् ।
इन्डोनसियाका विदेशमन्त्री रत्नो मर्सुदीले यसैसाता म्यान्मारकी नेतृ आङ सान सू ची र वरिष्ठ सुरक्षा अधिकारीसँग भेटी रोहिंग्यामाथिको हिंसा रोक्न आग्रह गरेका थिए।
मंगलबार ढाका पुगेर उनले बंगलादेशसँग रोहिंग्या आप्रवासीको समस्यामा सघाउने वचन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।