डडेल्धुरा- आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि डडेल्धुरामा एउटै गाउँपालिकाका तीन जना उम्मेदवार बनेका छन्।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ बाट तीन जनाको उम्मेदवारी परेको हो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, जिल्ला सभापति कर्ण मल्ल, र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डा.ताराप्रसाद जोशी एउटै गाउँपालिकाबाट चुनावी मैदानमा छन्।
गाउँपालिकाको वडा नम्बर १ का कांग्रेस केन्द्रीय सभापति देउवा डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्दैछन्। सोही गाउँपालिकाका वडा नम्बर २ का कांग्रेस जिल्ला सभापति मल्ल निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभाका लागी उम्मेदवार हुने भने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डा.जोशी पनि निर्वाचन क्षेत्र ‘ख’ बाट नै प्रदेशसभा सदस्यका दाबेदार हुन्। उनी मुख्यमन्त्रीको दौडमा पनि छन्।
टिकट पाएर १६ गते उम्मेदवारी दर्ता गरेपछि प्रदेशसभाका उम्मेदवार मल्ल र जोशी अहिले आआफ्नो पक्षमा मत बटुल्न घरदैलो कार्यक्रममा व्यस्त छन्।
वाम गठबन्धनका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा गाउँ पसे पनि प्रधामनमन्त्री देउवा भने काठमाडौंमै व्यस्त छन्। देउवालाई टक्कर दिन वाम गठबन्धनबाट माओवादी केन्द्रका सचिवलय सदस्य खगराज भट्ट चुनावी मैदानमा छन्।
उम्मेदवारहरुले आफू विजयी भए विकासका कामलाई प्राथमिकता दिने घोषणा गरेका छन्। उनीहरुले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली, रोजगारमुलक कामको आश्वसन दिइरहेको मतदाताको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।