रत्ननगर, चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका-१९ मा भएको घटना इतिहासकै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
पश्चिम चितवनको शारदानगरमा आइतबार बेलुका भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनका बेला वडा नं १९ मा भएको घटनाबाट शिक्षा लिँदै दोहोरिन दिन नहुने बताए। 'वडा नं १९ नेपालको चर्चाको विषय बन्यो, यहाँ जुन घटना घट्यो, त्यो इतिहासकै दुर्भाग्यपूर्ण घटना हो, त्यसबाट हामीले शिक्षा लिनुपर्छ,' उनले भने, ' त्यस्ता घटना कहिल्यै दोहोरिन दिनुहुन्न।'
स्थानीय तहको निर्वाचनका बेला भरतपुर–१९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको थियो। त्यसपछि यहाँ पुनः मतदान भएको थियो।
चार दिनदेखि चितवनमा चुनावी अभियानमा सक्रिय दाहालले क्षेत्र नं ३ का विभिन्न १० ठाउँमा भएको चुनावीसभालाई सम्बोधन गरेका छन्।
चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई पनि विचार मिल्ने शक्तिहरुसँग गठबन्धन गरेर जान सुझाव दिए। 'देशका ठूला पार्टीहरु मिलेर अघि बढ्नुपर्छ, नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस आत्तिन जरुरी छैन, कांग्रेसले पनि विचार मिल्ने शक्तिहरुसँग एकता गर्नु राम्रो हुन्छ,' उनको सुझाव थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।