काठमाडौं– मंसिर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी सभा तीव्र पारेका छन्।
दलका शीर्ष नेताहरुले आफ्नो दलका उम्मेदवारहरुलाई जिताउन सम्बन्धित क्षेत्रमा गएर सम्बोधन गर्ने क्रम बढेको छ। यद्पि दलहरुले शीर्ष नेताहरुले गर्ने चुनावी सम्बोधनको कार्यक्रम तय गरिसकेका छैनन्।
यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत आइतबार पार्टी सचिव योगेश भट्टराई उम्मेदवार भएको ताप्लेजुङ पुगेर सम्बोधन गरे। लगत्तै काठमाडौं क्षेत्र नम्बर ४ मा सम्बोधन गर्न आइपुगेका ओलीले ताप्लेजुङमा बाँडेको आश्वासन दोहोर्याए।
चुनावलाई लक्षित गर्दै संयुक्त वाम गठबन्धनले ताप्लेजुङ–दार्चुला अभियान थालेको छ। क्षेत्रीय भेला गर्ने र ठूला शहरमा मात्र शीर्ष नेताहरुले सम्बोधन गर्ने गठबन्धनको कार्यक्रम छ।
त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्नो चुनावी सम्बोधन थालेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा आइतबार सोलुखुम्बु पुगेर सम्बोधन गरेका छन्।
निर्वाचन सम्बोधनको कार्यक्रम तीन चरणमा गर्ने कांग्रेसको योजना छ। पार्टी सभापतिसहित शीर्ष नेताहरुले सात प्रदेशका मुख्य केन्द्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले बताए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै निर्वाचन क्षेत्र चितवनमा केन्द्रित छन्। अध्यक्ष दाहालले संयुक्त वाम निर्वाचन सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीकी प्रवक्ता पम्फा भुसालले बताइन्। क्षेत्रीय रुपमा संयुक्त भेला गर्ने कार्यक्रम यसअघि नै तय भएकाले अन्य छुट्टै कार्यक्रम नरहेको उनले बताइन्।
एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टीको एजेन्डासहित निर्वाचनमा गएकाले संयुक्त भेलाको कार्यक्रम तय भइरहेको र प्रदेशका केही स्थानमा शीर्ष नेताबाट सम्बोधन हुने एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए।
चुनावी सभामा कांग्रेसले कम्युनिस्ट शासन लोकतन्त्रका लागि खतरा भएको कुरा उठाउने गरेको छ भने वाम गठबन्धनले स्थायी सरकारका लागि मतदान भन्ने नारा बुझाउने गरेको छ।
दलका उम्मेदवार रहेका विभिन्न क्षेत्रमा नेताहरुले फाट्टफुट्ट रुपमा सम्बोधन गर्दै आए पनि शीर्ष नेताहरुले सम्बोधन गर्ने मिति भने कुनै पनि दलले तय गरेका छैनन्।
आफ्नो निर्वाचन क्षेत्रमा समेत शीर्ष नेताहरु सक्रिय हुनुपर्ने भएकाले त्यसलाई ध्यान दिँदै कार्यक्रम तय हुने कांग्रेस प्रचारप्रसार समितिले जनाएको छ। एमाले अध्यक्ष ओलीको पनि आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रमलाई ध्यानमा राख्दै पार्टी कार्यक्रम तय गरिने एमाले नेता श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।