काठमाडौं– नेकपा एमालले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा र वर्षमान पुन लक्षित आक्रमणप्रति अपत्ति प्रकट गरेको छ।
आइतबार विज्ञप्ति निकाल्दै एमालले सत्ताधारी दलहरुबाट विभिन्न खालका गुन्डागर्दी र आक्रमणका घटनाहरु बढाउँदै मतदातालाई आतंकित पार्ने प्रयास गरेको आरोप लगाएको छ। वाम गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी–केन्द्रका नेता एवं सरकारका बिना विभागीय मन्त्री शर्माको गाडी माथि आक्रमण भएको थियो।
गठबन्धनका रुकुममा प्रतिनिधिसभाका उम्मेदवार जर्नादन शर्मा चढेको गाडीलाई लक्षित गरी निर्वाचन प्रचार–प्रसारका क्रममा चौरजहारी नगरपालिकाको गाइरीमा कात्तिक २४ गते बम प्रहार भएको थियो।
कात्तिक २५ गते प्रतिनिधिसभा रोल्पाका वाम गठबन्धनका उम्मेदवार वर्षमान पुनमाथि माडीगाउँमा बम आक्रमणको प्रयास भएको थियो।
निर्वाचन नजिकिँदै जाँदा सत्ता संरक्षित गुन्डागर्दीको रुपमा सोलुखुम्बुमा उम्मेदवारको प्रचार सामग्री च्यात्ने, नष्ट गर्ने र अन्य पार्टीका समर्थकलाई धम्क्याउने, तर्साउने कामहरु भइरहेको आरोप एमालले लगाएको छ। एमालेको विज्ञप्तिमा यस्ता कार्यमा संलग्नहरुलाई तुरुन्त कारबाही गर्न सरकारसमक्ष माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।