काठमाडौं- नेपाल आयल निगमका कर्मचारीले इन्धनमा वास्तविकभन्दा बढी नोक्सानी भएको देखाउँदै करोडौं रुपैयाँ बराबरको घोटाला गरेको खुलासा भएको छ।
निगमको सञ्चालक समितिले विराटनगर, थानकोट, र सिनामंगलको पेट्रोलियम पदार्थको भण्डारणमा नोक्सानी निर्धारण गरेको छ। सिनामंगलमा हवाई इन्धनको नोक्सानी शून्य दशमलव ६२ प्रतिशत तोकेकोमा कार्यकारी निर्देशकले समितिको स्वीकृतिबिना शून्य दशमलव ८५ प्रतिशत तोकेको पाइएको छ।
सामान्यतया इन्धन भण्डारण गर्दा वितरण केन्द्र तथा डिपोहरुमा प्रतिलिटर शून्य दशमलव ६२ प्रतिशत इन्धन नोक्सानी हुने गरेको छ। बुझिने भाषामा भन्दा त्यो परिमाण बराबरको इन्धन भण्डारणका क्रममा उडेर जान्छ। तर, निगम सञ्चालक समितिले तोकेको औसत नोक्सानीको भन्दा बढी परिमाण इन्धन उडेको वा नोक्सानी भएको भन्दै कर्मचारीहरुले आर्थिक हिनामिना गरेको हुन सक्ने महालेखा परीक्षक कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले देखाएको हो।
यसरी नोक्सानी देखाएर आर्थिक हिनामिना गर्दा निगमको माथिल्लो तहका कर्मचारीसमेत संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ। औसतमा शून्य दशमलव ६२ प्रतिशतको नोक्सानीलाई निगमका कार्यकारी निर्देशकले नै बढाएर शून्य दशमलव ८५ प्रतिशत पुर्याएको देखिन्छ।
निगममा पछिल्लो करिब एक वर्ष कार्यकारी निर्देशकको भूमिकामा सुशील भट्टराई थिए भने तीन महिनायता सुरेन्द्र पौडेलले उक्त जिम्मेवारी सम्हालिरहेका छन्।
यस वर्ष थानकोट, सिनामंगल र भैरहवामा समितिले तोकेको भण्डारणभन्दा बढी नोक्सानी भएको देखिएकाले औसत बिक्री मूल्यको आधारमा ३ करोड ६५ लाख रुपैयाँ जिम्मेवार पदाधिकारीबाट असुल गरिनुपर्ने महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।