काठमाडौँ- नेपाली सेनाको सैनिक कल्याणकारी कोषको ६ करोडभन्दा बढी रकम असुल नभई जोखिममा रहेको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६५औं वार्षिक प्रतिवेदनअनुसार नेपाली सेनाले १ विकास बैंक र ३ वित्तीय संस्थामा जम्मा गरेको कोषको ६ करोड २७ लाख रुपैयाँ असुल नभई जोखिममा परेको हो।
गत असार मसान्तसम्म प्राप्त हुनुपर्ने मुद्दति एवं बचत खाताको साँवा ५ करोड ३ लाख रुपैयाँ र ब्याज १ करोड २४ लाख रुपैयाँसमेत गरी ६ करोड २७ लाख असुल हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
महालेखाको प्रतिवेदनअनुसार युनाइटेड विकास बैंक, नेपाल शेयर मार्केट एन्ड फाइनान्स लिमिटेड, सम्झना फाइनान्स लिमिटेड र हिमालय फाइनान्स लिमिटेडबाट उक्त रकम असुल गर्नुपर्ने हो।
बहालवाला तथा पूर्वसैनिक र उनीहरूको परिवारका लागि कल्याणकारी कार्य सञ्चालन गर्ने उद्देश्यले नेपाली सेनाले वि.स. २०३२ सालमा कल्याणकारी कोषको स्थापना गरेको थियो।
संयुक्त राष्ट्रसंघमा शान्ति स्थापना गर्ने कार्यमा भाग लिएबापत नेपाली सेनाले प्राप्त गर्ने रकममध्ये केही रकम कल्याणकारी कोषमा जम्मा गरिन्छ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा वि.स. २०३० मा सहभागी भएका सैनिकबाट प्राप्त रकमसमेत गरी १ करोड २४ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गरी कोषको आर्थिक कारोबार सुरु भएको थियो।
कोषमा ५४ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ मौज्दात रहेकामा आर्थिक वर्ष २०७४/७५ मा १३ अर्ब ३९ करोड ४५ लाख खर्च भई हाल ४१ अर्ब ३० करोड ९ लाख रुपैयाँ मौज्दात रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।