काँकडभिट्टा, झापा- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन्।
झापा क्षेत्र नं १ को धुलाबारीमा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए।
'नेपालका कम्युनिस्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली कांग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ,' उनले भने। आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उनको भनाइ थियो। आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीबीचको एकताले तोडिएको अध्यक्ष ओलीको धारणा थियो।
झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका अध्यक्ष चुनावी दौडाहामा आएका हुन्। वाम गठबन्धनबाट झापा क्षेत्र नं १ मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुरेन्द्र कार्की तथा क्षेत्र नं ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।