



काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले पत्रकार धरपकड लगायत सबै विवादित विषयमा छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने, ‘नेपाली कांग्रेस पत्रकार धरपकड लगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र निष्पक्ष पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नु पर्दछ ।’
सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको ठहर बैठकले गरेको सुनाउदै उनले भने– ‘पत्रकार धरपकड लगायतका घटनाप्रति कांग्रेस संसदीय दल आपत्ति प्रकट गर्दछ । साथै पत्रकार पक्राउको स्पष्ट कानुनी आधार पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनुले स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन विधिको शासन विपरीत हो । स्वेच्छाचारिता हो । यसको जवाफ सरकारले दिनुपर्छ ।’
जनसरोकारका विषय र सुशासनका सन्दर्भमा वर्तमान सरकारले गर्ने सही कार्यप्रति कांग्रेसको समर्थन रहे पनि लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण लगायतका सारभूत मूल्य मान्यता विपरीत सरकार लागेमा विरोध गर्ने भएको छ ।
‘न्यायपालिकाको स्वतन्त्रतालाई पनि अक्षुण्ण राख्नु पर्ने मान्यता बैठकले अगाडि सारेको छ । ‘यो पनि हामीले निरन्तर भन्दै आएको विषय हो । तर सरकारको गतिविधि जे गरेपनि हुन्छ जवाफ दिनु पर्दैन भन्ने मानसिकता र प्रयोग प्रवृत्तिको उपज जस्तो भएर सार्वजनिक भइरहेको छ’ उनले भने ।
सरकारका यी सबै घटनाहरूले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफू अनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक श्रृंखला भएको निष्कर्षमा कांग्रेस पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।