काठमाडौं- महालेखा परीक्षक कार्यालयले आफ्नो ५६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यालयले आज आफ्नो प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो।
संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको गरी ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ। सोमध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको छ।
यो वर्ष ७ वटा प्रदेशको २ खर्ब ६२ करोडको लेखापरीक्षणबाट १९ करोड ५१ लाख रुपैयाँ अर्थात् ७ दशमलव २५ प्रतिशत बेरुजु कायम भएको र ७ सय ४७ स्थानीय तहको ५ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ बराबरको लेखापरीक्षणबाट २४ अर्ब १४ करोड अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ।
त्यस्तै सार्वजनिक संस्था, जिल्ला समन्वय समिति र अन्य समितिको २५ खर्ब ७७ अर्ब ९५ करोडको लेखापरीक्षण सम्पन्न भएको छ। त्यसबाहेक ३० संगठित संस्थाको ४१ आर्थिक वर्षको लेखापरीक्षणका लागि परामर्श उपलब्ध गराएबमोजिम ७ खर्ब ३९ अर्ब ८० करोडको लेखापरीक्षण समेत यस वर्ष ५९ खर्ब ७२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ।
गत वर्षको बाँकी बेरुजु २ खर्ब ९० अर्ब ५२ करोडमा समायोजन र फर्स्यौट गरिएकोमा अंक घटाई यो वर्ष थप भएको १ खर्ब ४१ अर्ब ५ करोडसमेत गरी ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फर्स्यौट हुन बाँकी रहेको छ।
लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ९ अर्ब ७० करोड रुपैयाँ बराबर असुल भएको छ। यो वर्ष ५४ अर्ब ६५ करोड बेरुजु फर्स्यौट तथा सम्परीक्षण भएको छ।
महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।