काठमाडौं– आर्थिक सहायता बाँडफाँडमा पनि चरम बेथिति रहेको महालेखाले औंल्याएको छ।
मन्त्रिपरिषद्बाट स्वीकृत नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०६८ को बुँदा १२ मा राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिहरुलाई औषधोपचार तथा आर्थिक सहायता उपलब्ध गराउने उल्लेख गरिएको छ।
१६ नम्बर बुँदामा औषधोपचार बाहेक अन्य प्रयोजनमा सहायता उपलब्ध नहुने उल्लेख छ। यस मापदण्ड विपरित आर्थिक सहायता बाँडफाँड भएको तथ्य फेला परेको महालेखाले आफ्नो प्रतिवदेनमा उल्लेख गरेको छ।
यो वर्ष मन्त्रिपरिषदको निर्णयबाट प्रतिव्यक्ति ५० हजारदेखि २५ लाखसम्मका दरले २ हजार २ सय ३० जनालाई ३१ करोड ८० लाख २७ हजार वितरण गरेको छ।
कार्यविधिको बुँदा १२.१ मा पूर्व प्रधानमन्त्रीलाई बढीमा १५ लाख तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई बढीमा ७ लाखसम्म आर्थिक सहायता दिन सकिने व्यवस्था छ। तर यस विपरीत यो वर्ष मापदण्डभन्दा बढी हुने गरी प्रतिव्यक्ति २५ लाखसम्म आर्थिक सहायता वितरण गरेको महालेखाले जनाएको छ। सीमाभन्दा बढी हुनेगरी ३० व्यक्तिलाई ३ करोड ३३ लाख आर्थिक सहायता वितरण गरिएको उल्लेख छ।
गृह मन्त्रालयले २०७२/७३ मा १६ करोड ४० लाख ३५ हजार, २०७३/७४ मा २९ करोड ६ लाख ८ हजार र २०७४/७५ मा ३१ करोड ८० लाख २७ हजार आर्थिक सहायता प्रदान गरेको छ।
आर्थिक सहायताको रकम प्रत्येक वर्ष बढ्दै गए पनि कार्यविधिको पालना भने भएको छैन। आर्थिक सहायता उपलब्ध गराउदा औषधि उपचार पुष्टि हुने प्रमाण संलग्न नगरेको महालेखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।