रत्ननगर, चितवन- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिस्टको बहुमतको सरकार बन्ने दाबी गरेका छन्।
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष दाहालले आज पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै दशकौंदेखि नेपाली जनताले चाहेको कुरा यसपालि पूरा हुन लागेको बताए।
'दशकौँदेखि नेपाली जनताले कम्युनिस्ट मिलेर काम गरुन् भन्ने चाहे पनि कम्युनिस्ट विभाजन हुने र त्यो विभाजनको फाइदा दक्षिणपन्थीले लिने गरेका थिए,' उनले भने, 'फुटाउ र राज गर भन्ने साम्राज्यवादी रणनीति अनुसारको जुन परम्परा २०१९ सालदेखि चल्दै आएको थियो, यसपटक हामीले त्यो इतिहासलाई बदल्ने पहल गरेका छौँ।'
अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिस्ट एकताका लागि भएको उनको भनाइ थियो। एउटा बलियो कम्युनिस्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको पनि उनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।