काठमाडौं- ८८ केजी सुन तस्करी प्रकरणमा जिल्ला अदालतले भरियालाई थुनामा पठाएर करोडौं बिगो माग भएका मुख्य अभियुक्तहरुलाई भने सामान्य धरौटीमा छाड्ने आदेश गरेको छ।
जिल्ला अदालतले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार मात्र गराएको बयान दिएका तीन जना चालकलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको इजलाशले शुक्रबार थुनछेक बहसपछि यस्तो आदेश दिएको हो।
चालकहरु मनोज अधिकारी, दिलिप खड्का र दाम्पा लामालाई मुद्दाको किनारा नलागेसम्म थुनामै राखी अनुसन्धान गर्न जिल्ला अदालतको आदेशमा भनिएको छ। उनीहरुसहित दिनखर सालुखे र नन्दकुमार मर्गलेलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार कृष्णप्रसाद शर्माले बताए।
प्रहरी अनुसन्धानमा संलग्न देखिएकाहरुलाई करौडौं रकमको बिगो माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
जिल्ला अदालतले एक साता लामो थुनछेक सुनुवाइ गर्दै भरियालाई जेल र सुनका मालिक भनिएका व्यक्तिहरुलाई धरौटीमा रिहा गर्ने आदेश सुनाएको हो। ४६ करोड बिगो दाबी भएको मुद्दामा २ जना आरोपीलाई चार लाख तथा अन्य दुई जनालाई २÷२ लाख रुपैयाँ मात्र धरौटी हुने जिल्ला अदालतको आदेशमा उल्लेख छ।
४६ करोड बिगो माग भएको मुद्दामा जिल्ला अदालतले १४ लाख मात्र धरौटी माग गरेको छ। उक्त धरौटी रकम राख्दै उनीहरु शुक्रबार नै थुनामुक्त भएका छन्।
त्यस्तै आरोप पत्रमा चिनियाँ समूहका मुख्य सहयोगी भनिएका मान बहादुर तामाङसहित सुन व्यापारीहरुलाई सस्तो धरौटीमा रिहा गर्ने आदेश जिल्ला अदालत काठमाडौंले शुक्रबार गरेको हो।
जिल्लाले तामाङसहित बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडुलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
प्रहरीको अनुसन्धानमा सुन तस्करीमा अग्रवाल र शाक्यको मुख्य भूमिका देखिएको थियो।
जिल्ला अदालतले लाम्पा ग्याल्जेन तामाङलाई सामान्य धरौटीमा नै छाड्ने आदेश गरेको छ।
प्रहरीले चालकहरु निर्दाेष देखिएको भन्दै गत १५ कात्तिकमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिल कार्यालयले उनीहरुलाई छाड्न नमिल्ने भन्दै चालकसहित ११ जनाविरुद्ध गत १९ कात्तिकमा जिल्ला अदालतमा संगठित अपराध र सुन तस्करीमा मुद्दा दर्ता गरेको थियो। प्रहरी अनुसन्धानमा निर्दाेष देखिएका तीनै जना चालकलाई अदालतले भने थुनामा राख्ने आदेश गरेको छ।
अभियुक्तविरुद्ध ४६ करोड ७० लाख १६ हजार रुपैयाँ बिगो दाबी गरी संगठित अपराध र सुन तस्करीको दुई थान मुद्दा चलाउन सिफारिस गरिएको थियो। बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइएको थियो। ११ अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार ५ वर्ष कैद सजाय माग गरिएको थियो।
फरार मुख्य तस्करको नाममा म्याद जारी हुने
जिल्ला अदालतले तस्करीमा संलग्न मुख्य चार जनाको नाममा भने म्याद जारी गर्ने प्रक्रिया थाल्ने भएको छ। चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ तथा अर्का चिनियाँ झोङ होङ ल्याङ मुख्य तस्कर भएको प्रहरी अनुसन्धानमा देखिएको थियो।
फरार व्यक्तिहरु विदेशी नागरिक भएकाले म्याद तामेल गर्ने प्रक्रिया अर्को सुनुवाइबाट सुरु हुने शर्माले बताए।
अर्का मुख्य अभियुक्त मानिएका नेपाल केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङ समेतलाई जिल्लाले धरौटीमा छाडेको छ।
पक्राउ परेकामध्ये दाम्पा र दिलीप रसुवागढी नाकामा गाडी चलाउने काम गर्दै आएका थिए। नाकापारि रसुवाका स्थानीय मात्र जान पाउने भएकाले उनीहरूले गाडी वारपार गराउने काम गर्दै आएको बयान प्रहरीको अनुसन्धानका क्रममा दिएका थिए। १/१ हजार रुपैयाँ लिएर उनीहरूले गाडी वारपार गराएको प्रहरीको बयानमा उल्लेख छ।
१९ भदौमा महानगरीय अपराध महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थियो। प्रहरीले चालक मनोज अधिकारीलाई ८८ केजी सुनसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो। उनलाई बा १७ च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेलसम्म पुर्याउन लगाइएको थियो। अपराध महाशाखा र काठमाडौं परिसरले करिब दुई महिना लगाएर अनुसन्धान गर्ने क्रममा तस्करीमा संलग्न केही ठूला व्यक्तिलाई पनि पक्राउ गरेको थियो। तर, चिनियाँहरू भने भाग्न सफल भएका थिए। चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ केरुङ नाका भएरै भागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।