डडेल्धुरा- एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेता हुन्, शेरबहादुर देउवा। डडेल्धुराबाट चुनाव जितेर उनी गृहमन्त्री हुँदै चार पटक प्रधानमन्त्री समेत भइसके। वाम गठबन्धन बनेका बेला मंसिर २१ गते हुने निर्वाचनमा उनले डडेल्धुरामा आफ्नो साख बचाउन सक्लान्? अहिले विभिन्न अड्कलबाजी भइरहेका छन्।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवासँग वाम गठबन्धनवाट उनका चिरपरिचित प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रभावशाली नेता खगराज भट्ट प्रतिस्पर्धामा छन्। माओवादी एक्लै लड्दा पनि कडा टक्कर दिएका भट्ट एमाले र माओवादीको गठबन्धनका साझा उम्मेदवार रहेकाले अहिले रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ।




माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ मा माओवादी नेता भट्ट आएपछि देउवाले चुनावमा प्रतिस्पर्धाको महसुस मात्र गरेनन्, ढुक्क हुने अवस्था नभएपछि डडेल्धुरासँगै कञ्चनपुर निर्वाचन क्षेत्र ४ बाट पनि उम्मेदवारी दिए।
२०४८, २०५१ र २०५६ सालको निर्वाचनसम्ममा डडेल्धुरामा टक्कर दिने प्रतिस्पर्धी नहुँदा देउवालाई सहज थियो।
विगतका ३ निर्वाचनमा ठूलो मतान्तरले विजय हासिल गर्ने देउवाले २०६४ सालमा झिनो मतान्तर (१३ सय ६८ मत) ले भट्टलाई पराजित गरे। देउवाले २० हजार ५ सय २९ मत प्राप्त गर्दा भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए। नेकपा एमालेका उमेदवार विक्रमबहादुर शाहीले ७ हजार ९ सय ४२ मत पाएका थिए।
२०७० को संविधानसभा निर्वाचनमा देउवा डडेल्धुरासँगै कैलाली क्षेत्र ६ बाट पनि चुनाव लडे। दोस्रो संविधानसभाको निर्वाचनमा एमालेले पाएको मत स्थिर जस्तै देखिए पनि माओवादीका नेता भट्टको मत घट्यो र देउवाको बढ्न पुग्यो। देउवाले २३ हजार ९ सय २० मत प्राप्त गरे। भट्ट १२ हजार ४ सय ९३ मतमा खुम्चिए। एमालेका डा. ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत मात्रै पाए।
गत स्थानीय तहको निर्वाचनमा ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा ४ तहमा कांग्रेस, २ मा एमाले र १ तहमा माओवादी केन्द्र विजयी भएको छ। स्थानीय तहमा लोकतान्त्रिकभन्दा वाम गठबन्धनको ८ हजार ६ सय ५ मत बढी छ। डडेल्धुरामा नेपाली कांग्रेसका प्रमुख तथा अध्यक्षहरुले जम्मा १९ हजार पाँच २३ मत ल्याएका छन्। नेकपा एमालेका प्रमुख तथा अध्यक्षहरुले १६ हजार ९ सय १५ मत पाउँदा माओवादी केन्द्रका प्रमुख तथा अध्यक्षले १० हजार ९ सय ४५ मत ल्याएका छन्। राप्रपाले २ सय ६८ मत मात्र प्राप्त गरेको छ।
५२ वडा रहेको डडेल्धुरामा एमालेले १९ वडामा जित दर्ता गएको छ, भने कांग्रेस १७ वडामा खुम्चिएको छ। बाँकी १६ वडाहरुमा माओवादी केन्द्र विजयी भएको छ। स्थानीय तहको निर्वाचनयता जिल्लामा करिब ६ हजार नयाँ मतदाता थपिएका छन्। यी मतदाताको मतले नतिजामा असर पार्ने देखिन्छ।
प्रभाव, व्यक्तित्व र उनले डडेल्धुरामा गरेको विकासका काम देउवाका चुनाव जित्ने आधार भएको कांग्रेस समर्थक बताउँछन् भने मतदाताको सोच बदलिएको, वामपन्थी गठबन्धन लगायतका कारण भट्टले जित्ने उनका समर्थकको दाबी छ। २०४८ देखि लगातार ५ पटक निर्वाचन जितेका देउवा र वाम गठबन्धनका उम्मेदवार भट्टबीच कडा टक्कर हुने विश्लेषण गरिएको छ।
कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल जिल्लामा बिजुली, सडक, खानेपानी, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा गरेका विकास नै देउवाको जितका आधार भएको बताउँछन्। ‘जित्ने कुरामा त कुनै द्विविधा छैन,’ मल्लले भने, ‘कति मतान्तरले जित हुने भन्ने मात्र चासोको विषय हो।’
यता वाम गठबन्धका उम्मेदवार भट्टले जनताको परिवर्तनको चाहना, गठबन्धको स्थानीय तहको निर्वाचनमा ८ हजार भन्दा बढी मत, कांग्रेसभित्रको ठूलो विभाजन जित्ने प्रमुख आधार भएको बताएका छन्। ‘केन्द्र र प्रदेशमा वामपन्थीको सरकार बन्ने कुरा छर्लंग भएकाले प्रधानमन्त्री भएर केही गर्न नसकेका देउवाले सांसद मात्र भएर के गर्लान् भनेर जनताले बुझेका छन्,’ भट्टले भने, ‘२८ वर्षमा नगरेका विकासका काम ५ वर्षमा म गर्नेछु। जनताले मलाई पत्याएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।