मुस्ताङ- मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा आधुनिक सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ।
पूर्व मुस्ताङी राजकुमार जिग्मे सिङ पलवर विष्टले लोमान्थाङमा आमा पाल रोयल मुस्ताङ रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। गणतन्त्र स्थापना भएपछि निस्क्रिय बनेका राजपरिवार होटल व्यवसायमा लागेको हो।
उपल्लो मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि रिसोर्ट स्थापना गरेको सञ्चालक विष्टले बताए। उनका अनुसार गत असोज महिनादेखि सञ्चालनमा आएको रिसोर्ट स्थापना गर्न रु ९ करोड लगानी भएको छ।
उक्त रिसोर्टमा तिब्बती शैलीको भवन रहेको छ। भवनका लागि केही निर्माण सामग्री तिब्बतबाट समेत ल्याइएको थियो। एक दिनमा ५० जना पाहुना बास बस्न सक्ने क्षमताको उक्त रिसोर्टमा ७ जनाले रोजगारी पाएका छन्।
सो रिसोर्ट उपल्लो मुस्ताङको पहिलो हो। इन्टरनेट, हिटर, तातोपानी लगायतको सुविधा यो होटलमा पाइन्छ। सडकको पहुँच पुगेपछि उपल्लो मुस्ताङको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ।
माटोको पर्खालले घेरिएको, माटोकै घर, पृथक भूगोल, मनोरम देखिने प्राकृतिक दृश्य, गुफा उपल्लो मुस्ताङको आकर्षण हुन्। पूर्व राजपरिवार बस्दै आएको लोमान्थाङ दरबार भने भूकम्पले क्षति पुर्याएपछि पुनःनिर्माणको काम भइरहेको छ।
ऐतिहासिक महत्वको लोमान्थाङ दरबार पनि त्यहाँको थप आकर्षण हो। दालोमे गाउँपालिकाका अध्यक्ष राजु विष्टले पूर्व राजपरिवारले सञ्चालन गरेको रिसोर्टले उपल्लो मुस्ताङको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।