रत्ननगर, चितवन- चितवनको रत्ननगरमा पहिलो ‘पूर्वी चितवन महोत्सव’ शुरु भएको छ।
रत्ननगर जेसिजको आयोजनामा भएको महोत्सवको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दलहरुकै कारण देशमा आर्थिक विकास हुन नसकेको संकेत गर्दै अब देशमा आर्थिक उन्नतिको बाटो खोज्नुपर्ने आवश्यकता औँल्याए।
झन्डै २ सय कक्ष रहेको महोत्सवमा मण्डपसहितको विवाह परिसर निर्माण गरी विवाहमा चाहिने सामग्री तथा विभिन्न जातजातिका विवाह संस्कृतिको प्रदर्शनी गरिने महोत्सव संयोजक निरज श्रेष्ठले जानकारी दिए।
उनका अनुसार यसपालि सामूहिक विवाह समारोहमा कसैको पनि नाम दर्ता नभएकाले उक्त कार्यक्रम भने स्थगित गरिएको छ। महोत्सवमा सहभागी भएका २०७४ का जोडीलाई सौराहाका निश्चित होटलमा ४० प्रतिशत छुटको हनिमुन प्याकेजसमेत रहेको उनले जानकारी दिए।
महोत्सवमा दुलही शृंगार, रत्यौली, मेहन्दी लगाउने प्रतियागिता, तेक्वान्दो प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, तथा नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए।
मंसिर ३ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकार शिव परियार, इन्दिरा जोशी, ज्योति मगर, पशुपति शर्मा, मिलन लामा, मनोज गजुरेल तथा स्थानीय कलाकारको समेत विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्।
एकलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा रु ४० टिकट राखिएको र विद्यार्थीका लागि रु २५ तोकिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।