काठमाडौं- यातायात व्यावसायीले सरकारले विभिन्न बहानामा यातायात व्यावसाय र यसमा आश्रित श्रमिकको हकहितविपरीत निर्णय हुँदै आएको आरोप लगाएका छन्।
राजधानीमा बिहिबार आयोजित विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभामा उपस्थित यातायात व्यवसायीले सरकारले सिन्डिकेट खारेजीका नाममा निजी क्षेत्रलाई टाट पल्टाउने गरी काम गर्न थालेको आरोप लगाएका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कानुनको नाममा सरकारले यातायात क्षेत्रमा नकरात्मक हुने गरी निर्णय गर्दै गएको टिप्पणी गरे।
उनले निजी सवारी साधनले यात्रु बोक्न दिएर तथा सुविधाको नाममा टुटल र पठाओ जस्ता संस्थालाई निर्बाध काम गर्न दिनु गलत भएको टिप्पणी गरे।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राईले सवारी अनुमति पत्रका लागि कम्तिमा १० कक्षा उतीर्ण गर्नुपर्ने गरी कानुन बनाउन लागिएको भन्दै त्यसको विरोध गरे।
उनले सवारी अनुमतिपत्र वितरणका सम्बन्धमा केही गलत परिपाटी रहेको भन्दै सुधारको आवश्यकता रहेको बताए। 'यातायातका कर्मचारीहरुले आर्थिक चलखेल हुने बाटो सरकार आफैले श्रृजना गरेको छ,' उनले आरोप लगाए।
विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष विजयबहादुर स्वाँरले समग्र यातायात क्षेत्रको लगानीका साथै कार्यरत श्रमिकको पनि संरक्षण गर्ने सरकार र सरोकारवालाको ध्यान पुग्नुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा सत्तारुढ दल नेकपाका सांसद रामनारायण बिडारीले कम्पनीमा गएर समग्र यातायात व्यवसाय र तीनमा आश्रित श्रमिकहरुलाई नै लाभ पुग्ने भन्दै इमान्दार र व्यवसायिक बन्न यातायात व्यवहायीहरुको गम्भीर ध्यानाकर्षण गराएका थिए।
यातायात व्यवसायीहरुले गैह् नाफामुखी र मुनाफारहीत कम्पनीका रुपमा व्यवसायलाई दर्ता गर्नु गतल भएको टिप्पणी गरे।
सरकारले व्यवसाय, व्यवसायी र तीनमा आश्रित श्रमिककै हक हितमा नियम कानुन बनाउने भन्दै कानुनको अपव्याख्या नगर्न पनि उनले आग्रह गरेका थिए।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नियम र मर्यादामा कायम रही काम गर्न व्यवसायीलाई सचेत गराएका थिए।
कार्यक्रममा व्यवसायीहरुले यातायात व्यवसायको विकास र प्रर्वद्धनको साथै तीनमा आश्रित श्रमिकको पक्षमा काम गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।