काठमाडौं- चैत १७ गते तराईका २ जिल्ला बारा र पर्सामा आएको हावाहुरीका कारण कृषिक्षेत्रमा ५० करोड रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। तर, कृषि क्षेत्रका लागि अझैपनि राहत र क्षतिपूर्ति नपुगेको स्थानीयले गुनासो गरेका छन्।
कृषि अर्थशास्त्री अरुणप्रसाद बरालको संयोजकत्वमा हुरी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको मन्त्रालयको टोलीले उक्त परिमाणको कृषिबाली नष्ट भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो।
बारा जिल्लामा ३८ करोड २४ लाख १५ हजार रुपैयाँ र पर्सा जिल्लामा ११ करोड ७९ लाख ३४ हजार रुपैयाँ गरी कुल ५० करोड ३ लाख ५० हजार रुपैयाँ बराबरको अन्न तथा कृषिबाली नष्ट भएको सो तथ्यांकमा उल्लेख छ। त्यसैगरी, दुवै जिल्लामा ७५ लाख ८३ हजार रुपैयाँ बराबरको पशुपन्छी मरेका छन्।
हुरीका कारण १० हजारभन्दा बढी पशुपन्छी मरेका छन भने ३ सयको हाराहारीमा घाईते भएको प्रतिवेदनमा उल्लेख छ।
मन्त्रालयको टोलीले बारा र पर्सा जिल्लाका कृषि ज्ञानकेन्द्रको समन्वयमा तथ्याङ्क तयार पारेको हो। प्रदेश सरकारले कृषि तथा पशुपन्छीका क्षेत्रमा भएको क्षतिका लागि कुनै राहत रकम नबाँडेको पनि अध्ययन टोलीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ।
११ सय घर पूर्ण र १३ सय घरमा आंशिक क्षति
हुरीका कारण १ हजार ६० घर पूर्ण रुपमा र १३ सय ४२ घर आंशिक रुपमा क्षति भएको बताइसकिएको छ। हुरीका कारण ३ स्कुल, एक अस्पताल र ८ सार्वजनिक सम्पत्तिमा पूर्ण क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।