सुर्खेत- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदनमा प्रतिनिधिसभाका १ सय ६५ सिटमध्ये ७५ सिट आफूले जित्ने दाबी गरिएको छ। जसमा सुर्खेतका २ वटै निर्वाचन क्षेत्र समावेश छन्। सुर्खेतको क्षेत्र नं १ बाट कांग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् भने क्षेत्र नं २ बाट केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी उम्मेदवार छन्।
वाम गठबन्धनलाई तोड्दै खड्का र थानीले हासिल गर्लान् त विजय?
२०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस सुर्खेतमा नतिजाशून्य भयो। त्यही एउटा निर्वाचन हो, जहाँ २०४८ सालयता नेपाली कांग्रेसले सुर्खेतमा लज्जास्पद पराजय बेहोर्नुपरेको छ। त्यसबाहेक हरेक निर्वाचनमा कांग्रेसले सम्मानजनक नतिजा आफ्नो पक्षमा पार्दै आएको छ।
२०६४ मा बेहोरेको पराजयले गुमेको साख फिर्ता ल्याउन कांग्रेसलाई धेरै समय कुर्न भने परेन। पहिलो संविधानसभाले संविधान दिन नसकेपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नै कांग्रेसले आफ्नो दरिलो उपस्थितिलाई पुनरागम गराउँदै सुर्खेतका ३ वटै निर्वाचन क्षेत्रमा विजय हात पार्यो। जुन नतिजाले ६ वर्षअघि गुमेको उसको साख फिर्ता मात्रै गराएन मजबुत संगठन बनाएको एमाले र जनयुद्धको जगमा उदाएको माओवादीलाई ठुलै धक्कासमेत दियो।
पहिलो संविधानसभा निर्वाचनमा गुमेको साख ६ वर्षमै फिर्ता ल्याएको कांग्रेसले त्यसको ४ वर्षपछि पनि जोगाइराख्न सक्ला? सुर्खेत कांग्रेससामु अहिले यो प्रश्नचिह्न खडा भएको छ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई भत्काउँदै नतिजा आफ्नो पक्षमा पार्नु कांग्रेसका लागि निकै चुनौतीपूर्ण छ।
विगतमा कांग्रेसको अवस्था
विगतका सबै निर्वाचनको परिणाम हेर्ने हो भने सुर्खेतमा कांग्रेसको अवस्था कमजोर होइन। २०४८ को आम निर्वाचनमा सुर्खेतमा २ वटा निर्वाचन क्षेत्र थिए। दुवैमा कांग्रेस विजयी भयो। क्षेत्र नं १ बाट पूर्णबहादुर खड्का र २ बाट शिवराज जोशी विजयी भएका थिए।
२०४९ को स्थानीय निर्वाचन
२०४९ को स्थानीय तहको निर्वाचनमा पनि जिल्लामा कांग्रेस नै पहिलो भयो। ५० गाउँपालिका र एउटा नगरपालिकामध्ये ३१ गाउँपालिकाको अध्यक्ष, २९ उपाध्यक्ष र २ सय ७३ सदस्य गरी ३ सय ३३ पदमा जित हात पार्दै कांग्रेस पहिलो भयो। दोस्रो भएको एमालेले नगरपालिकासहित १८ अध्यक्ष, १९ उपाध्यक्ष र १ सय ४५ सदस्य जितेको थियो।
२०५१ को मद्यावधि निर्वाचन
२०५१ मा मध्यावधि निर्वाचन हुँदा सुर्खेतलाई ३ वटा निर्वाचन क्षेत्रमा विभाजन गरियो। जसमध्ये क्षेत्र नं १ बाट पूर्णबहादुर खड्का र ३ बाट शिवराज जोशी विजयी भएका थिए भने क्षेत्र नं २ बाट एमालेका यामलाल कँडेलले सिट सुरक्षित गरे।
२०५४ को स्थानीय निर्वाचन
२०४८ यता लगातार पहिलो हुँदै आएको कांग्रेसलाई २०५४ को स्थानीय निर्वाचनमा भने ठूलै धक्का लाग्यो। यो निर्वाचनमा एमाले पहिलो भयो। उसले ३७ अध्यक्ष, ३८ उपाध्यक्षसहित ६१.२६ प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दा कांग्रेस भने १३ अध्यक्ष र १३ उपाध्यक्षसहित ३२.३१ प्रतिशतमा सीमित हुन पुग्यो। त्यसलगत्तै २०५५ मा भएको जिल्ला विकास समिति सुर्खेतको निर्वाचनमा पनि एमालेले नै जित हात पार्यो, कांग्रेसका उम्मेदवार पराजित हुन पुगे।
२०५६ को संसदीय निर्वाचन
दुई वर्षअघि अर्थात् २०५४ को स्थानीय निर्वाचनमा गुमाएको साख कांग्रेसले २०५६ मा फिर्ता गराउन सफल भयो। २०५६ को संसदीय निर्वाचनमा जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरु विजयी भए। मत क्षेत्र नं १ बाट पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी र क्षेत्र नं ३ बाट उठेका शिवराज जोशीको पोल्टामा गयो।
संविधानसभा निर्वाचन २०६४ र २०७०
तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र द्वन्द्व छोडेर शान्ति प्रक्रियामा आइसकेपछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा सुर्खेतका ३ मध्ये २ वटा (क्षेत्र नं १ मा कमला शर्मा र २ मा यामलाल कँडेल) ले जित्दा क्षेत्र नं ३ मा माओवादीका नरबहादुर विष्ट विजयी भए। नेपाली कांग्रेस नतिजाशून्य भयो। तर त्यसको ६ वर्षपछि दोस्रो पटक २०७० मा भएको संविधानसभा निर्वाचनमा भने कांग्रेसले पुनरागम गर्दै ३ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्न सफल भयो। यसले जिल्लामा नेपाली कांग्रेस अझै पनि बलियो अवस्थामा रहेको पुष्टि गर्यो।
स्थानीय तह निर्वाचन २०७४
मुलुक नयाँ संरचनामा प्रवेश गरेसँगै भएको स्थानीय तहको पहिलो निर्वाचनमा पनि सुर्खेतमा कांग्रेसले अपेक्षाकृत नजिता हात पार्न सफल भयो। जिल्लाका ९ स्थानीय तहमध्ये ४ नगरपालिकासहित ६ स्थानीय तहको नेतृत्व कांग्रेसले आफ्नो पक्षमा पार्दा एमाले ३ वटामा खुम्चियो। माओवादी नतिजाविहीन भयो।
अब के होला?
विगतका निर्वाचनका परिणामलाई हेर्ने हो भने स्थानीय निकायको निर्वाचन २०५४ र संविधानसभा निर्वाचन २०६४ बाहेकका हरेक निर्वाचनमा सुर्खेतमा कांग्रेसले आफूलाई बलियो साबित गर्दै आएको छ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले विगतको साख जोगाउन सक्ला? आम चासोको विषय बनेको छ।
विगतको साख जोगाउने मुख्य जिम्मेवारी केन्द्रीय नेतृत्वमा समेत पुगिसकेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का र हृदयराम थानीको काँधमा छ। उनीहरु दुवै सुर्खेतबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् भने केन्द्रीय नेतृत्वले पनि यी दुवैले जित्ने आन्तरिक आँकलन गरेको छ। त्यति मात्र होइन सुर्खेतमा लामो समयदेखि कांग्रेसभित्र खड्का र थानी गुट समानान्तर रुपमा चल्दै आएका छन्।
यस पटक उम्मेदवार छनोटमा पनि दुवै गुटलाई बराबर पर्ने गरी उम्मेदवार मिलाइएको छ। यसले गर्दा कांग्रेसभित्रको गुटगत असन्तुष्टि मत्थर हुने र विजय हासिल गर्न सकिने आँकलन कांग्रेस नेताहरुको छ। तर उत्तिकै बलियो संगठन भएका एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई पराजित गर्नु कांग्रेसका प्रदेशसभाका अन्य उम्मेदवार मात्र होइन स्वयं खड्का र थानीलाई पनि सजिलो छैन।
स्थानीय तहको मतपरिणामलाई आधार मान्ने हो भने दुवै क्षेत्रमा वाम गठबन्धनको मत कांग्रेसको भन्दा निकै धेरै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।