एजेन्सी- भारतको सर्वोच्च अदालतले दिपिका पादुकोण, साहिद कपुर, रणजित सिंह अभिनित 'पद्मावती'को प्रदर्शनमा रोक लगाउनुपर्ने विपक्षीको मागलाई खारेज गरिदिएको छ। अदालतले याचिकाकर्तालाई आफ्नो आदेशमा भारतीय सेन्सर बोर्ड 'केन्द्रीय चलचित्र जाँच समिति'लाई तत:सम्बन्धि निर्णय गर्न दिने भएको छ।
फिल्मविरूद्ध सिद्धराजसिहं एम सुदसमा लगायत ११ जनाले अदालतमा मुद्दा दायर गरेका थिए। सो समूहले आफ्नो उजुरीमा इतिहासका ज्ञाता सम्मिलित कमिटी गठन गरेर फिल्मको जाँच गरिनुपर्ने माग राखेको थियो।
रानी पद्मावतीको जीवनीमा आधारित भनिएको सो फिल्ममा ऐतिहासिक तथ्यलाई बङ्ग्याउने काम गरेको दाबी गरिएको छ।
याअघि फिल्म विरूद्ध अलहावाद उच्च अदालतमा दायर भएको मुद्दालाई पनि सो अदालतले खारेज गरिदिएको थियो।
अदालतको यो आदेशपछि पनि फिल्मको समस्या भने टरेको छैन। राजस्थान राज्यले रिलिज अगाडि फिल्मको जाँच गर्न एक कमिटी गठन गरेको छ। राजस्थानको राजपूत समाजले फिल्ममाथि आपत्ति जनाउँदै आएको छ। जसका कारण राजस्थानमा प्रदर्शनका लागि कुनै पनि वितरकले फिल्म किनेका छैनन्। फिल्म डिसेम्बर १ मा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।